उम्मेदवार संख्या एक लाख नाघ्यो, मधेस प्रदेशमा सबैभन्दा बढी

काठमाडौँ — स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्तामा गर्नेको संख्या एक लाख नाघेको छ । आइतबार र सोमबार दुई दिन भएको उम्मेदवारी दर्ताको तथ्यांक निर्वाचन आयोगको प्रणालीमा सोमबार राति ११ बजेको सार्वजनिक गरेको छ । जसमा उम्मेदवार संख्या एक लाख नाघेको छ ।

पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा एक लाख, चार हजार, एक सय २३ जनाले उम्मेदवारी दर्ता गरेको विवरण आयोगको प्रणालीमा प्रविष्ट भएको छ ।

आयोगले उम्मेदवारी दर्ताको प्रदेशगत विवरण उपलब्ध गराएको छ । प्रदेशगत रूपमा सबैभन्दा बढी मधेस प्रदेशमा उम्मेदवारी परेको छ । जहाँ ११ बजेसम्मको विवरणअनुसार २४ हजार एकसय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता संख्याको दोस्रो नम्बरमा प्रदेश १ परेको छ । यो प्रदेशका स्थानीय तहका विभिन्न पदमा १८ हजार चार सय ९९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, लुम्बनी प्रदेशमा १७ हजार सात सय २० जनाले उम्मेदवारी दर्ता गराउँदा वागमती प्रदेशका स्थानीय तहमा भने १७ हजार दुई सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिम प्रदेशमा नौ हजार २० र कर्णाली प्रदेशमा आठ हजार नौ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा कम उम्मेदवारी गण्डकी प्रदेशमा दर्ता भएको छ । यहाँ आठ हजार पाँच सय २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदैछ ।

काठमाडौंको मेयरका लागि ५६ जनाको उम्मेदवारी, कुन महानगरमा कति ?

काठमाडौँ — सबैभन्दा बढी मतदाता भएको संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयरका लागि ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार सोमबार राति ९ बजेसम्मको विवरणमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिनेको संख्या ५६ रहेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंह, नेकपा (एमाले)बाट केशव स्थापित, विवेकशील साझाबाट समीक्षा बास्कोटा, स्वतन्त्र उम्मेदवार बालेन शाहलगायत ५६ जनाले उम्मेदवारी दिएका हुन् ।

चितवन भरतपुर महानगरपालिकाको मेयरका लागि ३० जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । यहाँ सत्तारुढ गठबन्धनबाट माओवादीकी रेणु दाहाल, एमाले र राप्रपाको गठबन्धनबाट एमालेका विजय सुवेदीसहित ३० जनाले मेयरमा उम्मेदवारी दिएका हुन् ।

त्यस्तै, पोखरा महानगरपालिकाको मेयरमा २४ जनाले उम्मेदवारी दिएका छन् । ललितपुर महानगरपालिकाको मेयरमा १३, वीरगञ्ज महानगरपालिकाको मेयरमा १२ जनाले उम्मेदवारी दिएका छन् । महानगरपालिकामध्ये सबैभन्दा कम मेयरको उम्मेदवारी विराटनगरमा परेको छ । यहाँ ११ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो । सोमबार ५ बजे सम्पन्न भएको मनोनयन दर्ताको कागजात मिलाउने र तथ्यांक केलाउने काम चलिरहेको आयोगले जनाएको छ ।

९ बजेसम्मको उक्त तथ्यांक रहेको र त्यसमा अझै उम्मेदवार संख्या थपिन सक्ने आयोगको अनुमान छ ।