नासुको सम्पत्ति : २१ ठाउँमा जग्गा, १४ बैंक खाता
अदालत र भन्सारमा बसेर ३ करोड ८९ लाख आर्जन, विभिन्न कम्पनी खडा गरेर अकुत सम्पत्ति लगानी
काठमाडौँ — नासु पदमा कार्यरत एक कर्मचारीले भन्सार र अदालतमा बसेर करोडौं रुपैयाँ अकुत आर्जन गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक भन्सार जाँचपास कार्यालय तीनकुनेमा कार्यरत नासु देवीबहादुर थापाविरुद्ध पौने २ करोड रुपैयाँ बिगो, त्यति नै जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२०५६ साउन ५ मा विचारी पदबाट सरकारी सेवा प्रवेश गरेका र पछिल्लो पटक निलम्बनमा रहेका नासु थापाविरुद्ध २० वर्षमा १ करोड ८७ लाख रुपैयाँ बराबरको गैरकानुनी चल अचल सम्पत्ति आर्जन गरेको कसुरमा सोमबार विशेष अदालतमा मुद्दा दायर भएको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीविरुद्ध अकुत सम्पत्ति बराबरको बिगो, बिगो बराबरको जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ । अख्तियारले थापाका बाबु कृष्णबहादुर, आमा चन्द्रमाया र श्रीमती विमसा राउत थापाविरुद्ध अनुसन्धानबाट खुलेको गैरकानुनी अकुत सम्पत्ति फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।
भन्सार जाँचपास परीक्षण कार्यालय तीनकुने काठमाडौंमा नासु पदमा कार्यरत थापाले पेस गरेको सम्पत्ति विवरण र अनुसन्धान गर्दा खुलेका तथ्यबीच तालमेल नदेखिएको र अनुसन्धान गर्दै जाँदा करिब २ करोड रुपैयाँ बराबरको चलअचल सम्पत्तिको स्रोत नखुलेको अख्तियारका प्रवक्ता भण्डारीले बताए । २०५६ साउन ५ मा विचारी पदमा सेवा प्रवेश गरेदेखि २०७५ असार मसान्तसम्मको अवधिमा थापा र उनका परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम आफू, बाबु–आमा र श्रीमतीका नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरू दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारले जनाएको छ ।
अख्तियार प्रवक्ता भण्डारीका अनुसार उनले परिवारका सदस्यको नाममा विभिन्न बैंक, वित्तीय संस्था तथा कम्पनीमा संस्थापक एवं साधारण सेयर उद्योग तथा फर्महरूमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मौज्दात एवं घर निर्माण लगायतमा ३ करोड ८९ लाख ४५ हजार ५ सय ८८ रुपैयाँ खर्च गरेको र २ करोड १ लाख ९८ हजार ४ सय ३९ रुपैयाँको मात्रै स्रोत खुलेको देखिन्छ । स्रोत नखुलेको रकमलाई नै अख्तियारले बिगो कायम गरी त्यस बराबरको जरिवाना र कैद सजाय मागदाबी गरेर मुद्दा दायर गरेको हो । स्रोत नखुलेको चलअचल सम्पत्ति पनि जफत गर्न अख्तियारले मागदाबी गरेको छ ।
सरकारी सेवा प्रवेश गरेको २० वर्षमा थापाले काठमाडौं, मकवानपुर र महोत्तरीमा २१ स्थानमा जग्गा खरिद गरेका छन् । बारा र पर्सा जिल्ला अदालतमा २०५६ साउनदेखि २०५७ मंसिरसम्म बसेका उनी त्यसपछि भने भन्सार कार्यालयहरूमा कार्यरत रहेको देखिन्छ । भन्सार क्षेत्र कर्मचारीका लागि सबैभन्दा बढी आकर्षक पोस्टिङ मानिन्छ । २०५७ मंसिरदेखि २०७५ असोजसम्म राजापुर बर्दिया भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय, अर्थ मन्त्रालय, त्रिवि भन्सार कार्यालय, पथलैया, लामाबगर भन्सार, रसुवा भन्सारमा कार्यरत उनी पछिल्लो पटक २०७५ असोजअघि भन्सार जाँचपास परीक्षण कार्यालय तीनकुनेमा कार्यरत थिए । ससुरा सुरेश राउत, सासू रेखा राउतसहित पारिवारिक सदस्यका नाममा सम्पत्ति लुकाएर उनले त्यसलाई वैध बनाउने प्रयास पनि गरेका छन् । पैतृक जग्गाजमिन महोत्तरीका ८ ठाउँमा देखिएकामा सरकारी सेवा प्रवेश गरेपछि थापाले काठमाडौंमा घरजग्गा जोडे । त्यसबाहेक मकवानपुर र महोत्तरीका २१ ठाउँमा जग्गा किनेको देखिन्छ । त्यस्तै महोत्तरी र मकवानपुरका १५ ठाउँको जग्गा पनि बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।
अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोजनपत्रअनुसार काठमाडौं र महोत्तरीका विभिन्न ठाउँमा अझै जग्गाजमिन देखिन्छ । राष्ट्रिय वाणिज्य बैंकसहित १४ बैंकमा उनले खाता खोलेर जग्गा कारोबार र आर्थिक लेनदेन गरेको अनुसन्धानबाट खुलेको छ । अख्तियारले अनुसन्धान गरेपछि यी खातामा रहेको १० लाख ४९ हजार ५ सय ८३ रुपैयाँ रोक्का छ । करिब ३ लाख रुपैयाँ आफ्नो ऋण रहेको उल्लेख छ ।
अख्तियारका अनुसार पत्नी विमसा राउत थापा र आफ्ना नाममा क्रमशः कमलामाई ट्रेडर्स र कृष्णचन्द्र रियल स्टेट कम्पनी स्थापना गरेर अकुत सम्पत्ति लगानी गरेको अनुसन्धानबाट खुलेको छ । करिब २ सय कारोबार विवरण केलाउँदा अख्तियारले उनले सरकारी न्यून मूल्यांकनबाट हुने कारोबार ३ करोड ८९ लाख ४५ हजार ५ सय ८८ रुपैयाँ देखाएका छन् । यो मूल्यांकन अहिले तुलना गर्दा ५० करोडभन्दा बढी हुने अख्तियार स्रोत बताउँछ ।
अकुत सम्पत्ति लुकाउन थापाले घरबहालबापत ३५ लाख ४८ हजार ९ सय ८२ रुपैयाँ आम्दानी देखाएका छन् । कृषिबाट पनि उनले परिवारका अरू सदस्यको भाग कटाएर आफ्ना नाममा २४ लाख ७२ हजार ४ सय ३४ रुपैयाँ आम्दानी देखाएका छन् । आफूसँग भएको सम्पत्तिको स्रोत जबर्जस्ती देखाउनकै लागि अन्य व्यवसायबाट १७ लाख ४६ हजार ८ सय ४१, सवारी भाडाबाट १४ लाख ४० हजार, गरगहना र दाइजोबाट १५ लाख ९१ हजार, पशुधन आयबाट ६० लाख आम्दानी देखाएका छन् ।
जग्गा खरिदतर्फ सबै गरी एकमुष्ट १ करोड ६१ लाख ८२ हजार ६ सय ८४ लाई उनले व्ययतर्फ हिसाब देखाएका छन् । त्यस्तै सेयर खरिदमा ७६ हजार २ सय, सवारी साधन खरिदमा ७ लाख ८७ हजार ७ सय, बिमातर्फ प्रिमियम रकम भुक्तानीमा ९२ हजार २ सय १८, अन्य पेसा व्यवसायमा लगानी गर्दा २५ लाख ८ हजार खर्च भएको देखाइएको छ । तर, यसमध्ये धेरैको स्रोत खुलाउन उनले सकेका छैनन् । उनी सेवा प्रवेशदेखि ४ वर्षको अवधिमा ११ लाख ४१ हजार ९ सय ४० रुपैयाँ पारिश्रमिक, भत्ता, व्यापार व्यवसायलगायतबाट आएको देखाएका छन् । तर, अख्तियारका अनुसार ७ लाख ४३ हजार ७० रुपैयाँको स्रोत नै खुलेको देखिँदैन ।
२०६१ देखि २०६६ सम्मको पारिश्रमिक, भत्ता, लगानीलगायतबाट ८४ लाख ९८ हजार रुपैयाँ देखाएकामा २१ लाख ३ हजार २ सयको स्रोत खुलेको छैन । २०६६ देखि २०६८ सम्म उनले ७९ लाख १० हजार ८ सयको कारोबार गरेको देखाएकामा ६५ लाख ४० हजार ८ सय ९४ रुपैयाँको स्रोत खुलेको छैन । त्यस्तै २०६८ देखि २०७० को अवधिमा उनले ३५ लाख ५२ हजार ७ सय २१ रुपैयाँ बराबरको कारोबार देखाएकामा १८ लाख ३२ हजार २ सय ८८ रुपैयाको वैध स्रोत खुलेको देखिँदैन । २०७१ भदौदेखि २०७३ वैशाखसम्म २९ लाखको हिसाब देखाएकामा १४ लाख ४३ हजार ३ सय ५१ रुपैयाँको वैध स्रोत खलाउन सकेका छैनन् ।
त्यसपछिका ७ महिनामा ३२ लाख २९ हजारको कारोबारमा १७ लाख ६२ हजारको स्रोत खुलेको छैन । त्यसपछिको ६ महिनामा भएको २८ लाख ६१ हजारको कारोबारमा २४ लाख २६ हजार अकुत सम्पत्तिलाई वैध बनाउन खोजेको अख्तियारले उल्लेख गरेको छ । अख्तियारले पछिल्लो कारोबारलाई २०७५ भदौ २८ देखि असार मसान्तसम्मलाई आधार मानेर त्यस अवधिमा देखाइएको १२ लाख ६९ हजारको कारोबारमध्ये ६ लाख २९ हजारलाई अवैध रहेको उल्लेख गरेको छ ।
सबै कारोबार अध्ययन गरेर अख्तियारले ४७ शीर्षकको २ करोड १ लाख ९८ हजार ४ सय ३९ रुपैयाँलाई वैध स्रोत मानी स्रोत नखुलेको चल अचल १७ वटा शीर्षकको कारोबार र सम्पत्तिलाई अवैध मानेर १ करोड ८७ लाख ४७ हजार १ सय ४७ रुपैयाँलाई बिगो कायम गरेको छ । अख्तियारले महोत्तरीमा देवीबहादुर थापा, कृष्णचन्द्र रियल स्टेट र चन्द्रमायाका नाममा भएका जग्गा जफत गर्न मागदाबी गरेको छ । सेयरतर्फ १३ लाख ३९ हजारको जफत गर्न भनिएको छ । यस्तै अन्य १६ ठाउँका जग्गा पनि जफत गर्न भनेको छ ।