आज पनि मनोनयनपत्र दर्ता, उम्मेदवारको सूची आजै प्रकाशन गर्ने
काठमाडौँ । स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन् ।
निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि उम्मेदवारको मनोयन प्रक्रिया शुरु भएको थियो । निर्वाचन आयोगले गत चैत ४ गते उम्मेदवारको मनोयन दर्ता दुई दिन गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो । देशभरका ७५३ स्थानीय तहका लागि कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ ।
उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिनसबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगको सूचना प्रणालीमा कूल १० हजार ५३३ उम्मेदवारी दर्ता भएको छ । सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त नभएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगको सूचना प्रविधि शाखाले प्राप्त तथ्याङ्क प्रशोधनको कार्य गरिरहेको छ । सो शाखाकाअनुसार प्रणालीमा सङ्कलित विवरणअनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल ९७३, उपप्रमुख र उपाध्यक्षमा ४९४, वडा अध्यक्षमा दुई हजार २२६ को उम्मेदवारी दर्ताको विवरण सङ्कलन भएको आयोगले जनाएको छ ।
वडासदस्यमा तीन हजार १९०, महिला सदस्यमा एक हजार ९१, दलित महिला सदस्यमा एक हजार ३० गरी कूल वडासदस्यमा १० हजार १०७ मनोनय दर्ता भएका छन् ।
वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
उम्मेदवारी दर्ता पहिलो दिन न्यून
पार्टीभित्र वडा तहको उम्मेदवारका विषयमा सहमति नभएका कारण ठूला दलले सोमबार मात्र उम्मेदवारी दर्ता गर्ने
चितवन‚ मकवानपुर‚ दोलखा — स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार चितवनमा न्यून मात्रामा मनोनयन दर्ता भएको छ । सत्तारूढ गठबन्धन र एमालेले पहिलो दिन मनोनयन नै दायर गरेनन् । सोमबार मात्रै गर्ने गरी उम्मेदवार छनोट र सिट बाँडफाँटमा दिनभर व्यस्त रहे । चितवनमा स्थानीय तह निर्वाचनका लागि ३४ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताए ।
आइतबार भरतपुर महानगरपालिका मेयरमा ११ र उपमेयरमा तीन जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताए ।
भरतपुरमा नेपाल मजदुर किसान पार्टी, जनमुक्ति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, उन्नत लोकतन्त्र पार्टी, मौलिक जरो किलो पार्टी र नेकपा मालेले मनोनयन दर्ता गरेका छन् । माले, जनमुक्ति र मंगोल नेसनल अर्गनाइजेसनले मेयर, उपमेयर दुवैमा दर्ता गराए । अरूले मेयरमा मात्रै गराएका छन् । पाँच जनाले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेमकिपाले इच्छाकामना गाउँपालिका अध्यक्षमा पनि मनोनयन दायर गरेको निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए । माडी नगरपालिकामा राष्ट्रिय नागरिक पार्टीबाट मात्रै मेयर, उपमेयरमा मनोनयन दायर भएको निर्वाचन अधिकृत चूडामणि शर्मा गौतमले बताए । खैरहनी नगरपालिकामा एक वडाध्यक्षको मात्रै मनोनयन दर्ता भएको निर्वाचन अधिकृत सरस्वती पौडेलले बताइन् । रत्ननगर नगरपालिकामा जनता समाजवादी पार्टी, नेमकिपा र मंगोल नेसनल अर्गनाइजेसनले मेयरमा उम्मेदवारी दिएका छन् ।
हेटौंडा मेयरमा ७ को उम्मेदवारी
हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि आइतबार ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिक दलबाट ५ र स्वतन्त्रबाट २ जनाले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा नेकपा (समाजवादी) बाट रोमनाथ भुर्तेल, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराई, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका हुन् । स्वतन्त्रबाट लीलाकुमारी आचार्य र देवराज पौडेलले मेयरमा उम्मेदवारी दिएका छन् । उपमेयरका लागि २ जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् । मौलिक जरोकिलो पार्टीबाट सुनील घिमिरे र नेकपा (समाजवादी) बाट मखकुमारी तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
हेटौंडामा गठबन्धन, एमाले, राप्रपा र राप्रपा नेपालले सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने भएका छन् । पार्टीभित्र वडा तहमा सहमति नभएका कारण ठूला दलले सोमबार उम्मेदवारी दर्ता गर्ने भएका हुन् । एमालेले मकवानपुरको मनहरी र भीमफेदी गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित वडाअध्यक्षको उम्मेदवारी दर्ता गराएको छ । जिल्लाका बाँकी ८ स्थानीय तहमा सोमबार मनोनयन दर्ता गर्ने एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताए । एमालेबाट भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती राना तथा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष सुजिता थिङले उम्मेदवारी दिएका छन् । गठबन्धनले मकवानपुको स्थानीय तहको प्रमुख तथा उपप्रमुखको भागबन्डा टुंग्याएको छ । कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँका अनुसार गठबन्धनले मकवानपुरमा ५ स्थानीय तहमा कांग्रेस, ३ वटा माओवादी र २ वटा नेकपा (एस) ले पाएको छ । कांग्रेसले बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका प्रमुख पाएको छ । माओवादीले थाहा नगरपालिका, वाग्मती र भीमफेदी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने भएको छ ।
गठबन्धनको सहमतिअनुसार एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिका प्रमुख पाएको छ । एकीकृत समाजवादीले हेटौंडाको मेयरमा मीना लामालाई उम्मेदवार बनाउने भएको छ । एमाले दोलखाले जिल्लाका सबै नौवटै स्थानीय तहमा आइतबार मनोनयन दर्ता गराएको छ । भीमेश्वर नरपालिकामा हरिवंश चौलागाईं अध्यक्ष र कमला बस्नेतले उपाध्यक्षमा दर्ता गराएका छन् । चरिकोटमा सातदोबाटोबाट बाजागाजासहित र्याली गरे मनोननयन दर्ता गरेका थिए । यस्तै जिरीमा एमालेका मित्र जिरेल प्रमुख र कृष्ण माया बुढाथोकीले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । बैत्यश्वर गाउँपालिकामा अध्यक्षमा माधवप्रसाद घिमिरे र उपाध्यक्षमा नवीना लामाले उम्मेदवारी दिएका छन् । गौरीशंकरमा जंग गुरुङ र मुना शिवाकोटी, विगुमा अच्युतम कटुवाल र देविका थामी, कालिञ्चोकमा गणेश शिवाकोटी र कविता थामी तामाकोसीमा अभिषेक सुवेदी र अम्बिका पोखरेलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जिल्लामा गठबन्धनका दलहरूले सोमबार मनोनयन दर्ता गराउने कार्यतालिका छ । जिल्लामा कांग्रेसले ४ माओवादीले ३ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तह बाँडफाँट गरी चुनावी गठबन्धन गरेका छन् ।