सिकारी सरदार बंशु गुरुङ्गको सातौ सन्तान नर बहादुर क्वोने गुरुङ
लण्डन । शनिबार १५ जनवरी २०२२ साल क्वोने (घोताने/ घोण्डे) गुरुङ (तमु) समाज यूकेले केन्द्रिय संस्था– क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालसँग मिलेर संयुक्त रुपमा क्वोने (घोताने/घोण्डे) गुरुङहरुको वीर पुर्खा सिकारी सरदार बंशु गुरुङ सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरेको थियो । छलफल कार्यक्रममा सिकारी सरदार बंशु गुरुङको सातौ सन्तती पुख्र्यौली घर कास्की अर्मलाकोट भई हाल ज्यामरुक राघीपाली ओखले तनहुँ (भानु नगरपालिका-१२) स्थाइ बसोवास रहेको, काठमाण्डौ निवासी साझा प्रकाशनको पूर्व नि. महाप्रबन्धक तथा नेपाल नेत्र ज्योति संघ केन्द्रका पूर्व सचिव नर बहादुर क्वोने गुरुङले बंशु गुरुङ आफ्नो परिवारको बंशज (पुर्खा) भएको खुलासा गर्नुभयो ।
नर बहादुर गुरुङका अनुसार– सरदार बंशु गुरुङहरु तीन दाज्युभाईहरु थिएः बंशु गुरुङ, प्रताप गुरुङ र प्रतिमन गुरुङ । तिनै दाज्युभाइहरु त्यतिबेला दरबारीया थिए । तीन दाज्युभाइहरु मध्ये जेठा बंशु गुरुङ र कान्छा प्रतिमन गुरुङ निःसन्तान थिए भने माइला प्रताप गुरुङको सन्तानहरुमा– चम्पसिङ गुरुङ, चम्पसिङको छोरा जर्कट गुरुङ, जर्कट गुरुङको माहिला छोरा फत्त बहादुर गुरुङ, फत्त बहादुर गुरुङको जेठा छोरा मनिलाल गुरुङ, मनिलाल गुरुङको छोरा चन्द्र बहादुर गुरुङ र चन्द्र बहादुर गुरुङको जेठा छोरा सातौ पुस्ता आफु नर बहादुर क्वोने गुरुङ र आठौ पुस्ता आफ्नो छोरा गौरव क्वोने गुरुङ रहेको कुरा जानकारी गराउनुभयो ।
ईतिहासमा उल्लेख भए अनुसार नेपाल एकिकरणमा वा राष्ट्र निर्माणमा झन्डै १२५ जात जातिहरुले विभिन्न समयमा राजा महाराजाहरुलाई सहयोग वा योगदान पुर्याएका थिए जुन आज आएर नेपालमा झन्डै १२३ जातिय भाषाहरु बोलिन्छन् भन्ने कुराले प्रमाणित गर्दछ । योगदान दिने जातजातिहरु मध्ये गुरुङहरु वा गुरुङ जाति पनि एक हो । बिशेष गरेर पृथ्वी नारायण शाहको राज्य एकीकरणको समयमा धेरै गुरुङ सरदारहरुले अहम भूमिका निर्वाह गरेर योगदान पुर्याएका थिए । त्यसमध्ये झागल गुरुङ (गोरखा), काजी नरसिंह गुरुङ (स्याङ्जा) र काजी अङगद घले र सुब्बा प्रहलाद गुरुङ आदि प्रमुख सेना कमान्डरहरु थिए ।
बंशु गुरुङकाे बिशेष योगदान कहिले रहेको थियो भने सन्दर्भमा– बिक्रम सम्बत १८२४ साल आश्विन २४ गते तदनुसार अक्टोबर ६ ईस्वी सम्वत १७६७ मा पौवा गढी सिन्धुलीको युद्धमा वा सिन्धुलीगढीमा अङग्रेजहरुसँगको लडाईंमा एसियामै अनि विश्वमै पहिलोपटक अङग्रेजहरुलाई परास्त गरेका थिए । यदि सिकारी सरदार बंशु गुरुङको कमान्ड रहेको उक्त युध्द हारेको भए नेपालले त्यसै बेलादेखि परदेशको गुलामी वा उपनिबेश भएर बस्नु पर्थ्यो होला । त्यसैले नेपाललाई परदेशको गुलामी बन्नबाट जोगाउन वा उपनिवेश बन्नबाट जोगाउन सरदार बंशु गुरुङको बिशेष योगदान रहेको छ ।
बंशु गुरुङको कहाँ कसरी आयो र बंशु गुरुङभन्दा अगाडीको पुस्ताको ईतिहास बुझ्दा अन्य गुरुङहरु जस्तै बंशु गुरुङको पुस्ता पनि ठिनी घ्याल्सा मुक्तिनाथ बाट कास्कीको सिक्लेस हुँदै पोखरा नजिकैको गाउँ अर्मलाकोट आएको र त्यही अर्मलाकोट हुँदा उनीहरुको दाज्युभाईहरु पृथ्वी नारायण शाहको दरबारमा भारदारको रुपमा प्रबेश गरेको देखिन्छ । गोर्खा दरबारमा भारदारको रुपमा कार्यरत रहँदा गोरखाको स्यार्तान क्षेत्रमा अहिलेको हंसपुर सुगुरे धारापानीमा तीन दाज्यु भाइहरू केही समय बसोबास गरेको पनि देखिन्छ ।
बि.सं. १८२३ मा पृथ्वी नारायण शाहको छोरी बिलास कुमारीको सल्यानको राजकुमार रण भिम शाहसँग शुभ विवाह हुँदा पृथ्वी नारायण शाहले आफ्नो छोरीलाई जग्गा जमीन (ईलाका) दाईजो दिंदा सरदार बंशु गुरुङ र उनका भाई प्रतिमन गुरुङ साक्षी थिए वा बसेका थिए भन्ने कुरा ईतिहासमा उल्लेख भएको पाइन्छ । त्यसैगरि पछि बि.सं. १८४५ सालमा पृथ्वी नारायण शाहको छोरी बिलास कुमारीलाई सल्यानबाट काठमाडौँ ल्याउन पाउ रखवारी गर्न बंसु गुरुङलाई खटाएको देखिन्छ । उक्त तथ्य प्राध्यपक तथा इतिहासबिद डा.जगमान गुरुङले लेख्नुभएको २०४१ सालमा बौद्ध अर्घौ सदन पोखराले प्रकाशन गरेको पुस्तक “नेपालको एकिकरणमा गुरुङहरुको भूमिका” उल्लेख गरेको छ ।
सरदार बंशु गुरुङको माइला भाई जमदार प्रताप गुरुङ बि.सं १८४९ सालको नेपाल चीन (भोट) युध्दमा शहिद भएको कुरा ईतिहासमा उल्लेख रहेको छ र त्यसको अर्को बर्ष यिनै जमदार प्रताप गुरुङको छोरा चम्पसिङ गुरुङलाई तनहुँको ज्याम्रुक राघीपालीमा बिर्ता बक्सेको कुरा उल्लेख गरेको छ । त्यस्तै चम्पसिङ गुरुङलाई बिं.सं. १८६२ सालमा बिशेष अधिकारसहित चयनपुर बिजयपुरमा (अहिले इटहरी धरान) डिठ्टा नियुक्ती पनि गरीबक्सेको थियो ।
दरबारबाट सेवा निबृत्त भएपछि भारदार र सरदार हुँदाको समयमा पृथ्वी नारायण शाहद्धारा तीन दाज्युभाइलाई बिर्ता दिएको (बक्सेको) तनहुँको त्यही ज्याम्रुक राघीपालीमा बंशु गुरुङको थातथलोमा बंशु गुरुङ को दाज्युभाईहरु वा परिवार बस्दै आउनुभएका थिए । सोहि थातथलोमा नै सिकारी सरदार बंशु गुरुङको विक्रम सम्वत १८७० तिर मृत्यु भएको भन्ने बुझिन्छ । बंशु गुरुङले निर्माण गरेको सुब्बा चौतारा देखि अरु थुप्रै भौतिक संरचनाहरु अझै तनहुँको ज्याम्रुक ओखले मा रहेको कुरा नर बहादुर क्वोंने गुरुङले सुनाउनुभयो । त्यस्तै बंशु गुरुङको मुख्य सहयोगीहरुको सन्तानहरु अझै पनि तनहुँमा ज्याम्रुक ओखलेमा बसोबास गरिरहेको कुरा नर बहादुर गुरुङले जानकारी गराउनुभयो । बंशु गुरुङले बिर्ता पाएको प्रमाणहरु (लाल मोहर) चारखाल डिल्लीबजार स्थित मालपोत कार्यलयमा (अड्डामा) अझै पनि छन भन्ने कुरा पनि नरबहादुरले सुनाउनुभयो ।
अन्त्यमा, बंशु गुरुङको सातौ सन्तान नर बहादुरले आफ्नो वीर पुर्खाहरु योगदान र बंशको महत्वलाई बुझ्दै यसरी अन्तकृया कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यवाद दिनुभयो । गुरुङले यदि हामीले हाम्रो बंशको ईतिहास र योगदानलाई वास्ता नगर्ने हो भने बिलाएर वा हराएर जाने भएकोले सबैले चासो लिएर र महत्व बुझेर इतिहास जिबित राख्नुपर्ने कुरा जोड दिनुभयो ।
कार्यक्रमका सभापति क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङले क्वोंने (घोताने/घोण्डे) गुरुङको बीर पुर्खाबारे स्पष्ट रुपमा जानकारी गराउनुभएकोमा नर बहादुर गुरुङलाई धन्यबाद दिनुभयो । त्यस्तै क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालको (केन्द्रको) अध्यक्ष भुमि गुरुङ (विश्व) गुरुङले पनि विदेशमा रहेर पनि आफ्नो बीर पुर्खाहरुबारे चासो गरेर वा राखेरा कार्यक्रम आयोजना गनुभएकोमा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके र सहभागी सबै भाइखलक तथा चेलिबेटीहरुलाई धन्यबाद दिनुभयो ।