लोकतन्त्रको रक्षाका लागि लाग्न पूर्वप्रधानमन्त्रीहरुको सभामुखलाई सल्लाह
काठमाडौं । पूर्वप्रधानमन्त्री र दलका शीर्ष नेताले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको छलफलमा सहभागी पूर्वप्रधानमन्त्री र दलका शीर्ष नेताले यस्तो बताएका हुन् ।
छलफलपछि पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्वपूर्ण रहेकाले त्यसमा लाग्न सुझाव दिएको बताए। ‘उहाँको हातमा महत्वपूर्ण जिम्मेवारी छ’, सभामुखलाई तपाईंहरुले के सुझाव दिनुभयो भन्ने पत्रकारको प्रश्नको जवाफमा भट्टराईले भने, ‘लोकतन्त्रको रक्षाका लागि लाग्नुहोस्, हाम्रो सहयोग रहन्छ, भन्यौ ।’
सभामुख सापकोटाले संविधान भित्र रहेर लोकतन्त्रको रक्षाका लागि काम गर्ने बताएका छन् । सभामुखको भनाइ उद्धृत गर्दै बाबुरामले थपे, ‘संविधानभित्र रहेर लोकतन्त्रको रक्षाका लागि काम गर्छु भन्नु भएको छ ।’ बाबुरामले अर्को चुनाव नहुँदासम्म सभामुखको पद रहने हुँदा समसामयिक विषयमा छलफलको आयोजना गर्नु स्वभाविक भएको बताए ।
सभामुखसँगको छलफलमा समसामयिक राजनीतिक विषयसँगै राष्ट्रिय संकट र कोरोना महामारीको विषयमा छलफल भएको बाबुरामको भनाइ छ । महामारीको रोकथाम तथा नियन्त्रणसँगै राजनीतिक संकट समाधानका लागि सबैको साझा धारणा हुनुपर्नेमा जोड दिएको उनको भनाइ छ ।
सभामुखले आयोजना गरेको छलफलमा सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यापार घाटा कम गर्न चुरेको गिटी, बालुवा निकासी गर्ने तयारी गरेकोप्रति नेताहरुले आपत्ति जनाएका छन् । यो गलत निर्णय भएकाले यसविरुद्ध सबै एकजुट हुनुपर्नेमा छलफलमा जोड दिएको उनले बताए।
दोस्रो पटक प्रतिनिधिसभा विघटन गलत र असंवैधानिक भएको भन्दै बाबुरामले यसलाई निरंकुशताको परकाष्टाको संज्ञा दिए। यो विषयमा सबै दलका १४६ सांसदले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएको बाबुरामले प्रष्ट पारे । संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सभामुखसँगको छलफलको निचोड लोकतन्त्र बनाउने मात्र रहेको बताए। ‘समसामयिक विषयमा छलफल भयो’, यादवले भने, ‘आजको निचोड लोकतन्त्रलाई बचाउने नै हो ।’
छलफलका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई निम्तो गरिएको थियो । प्रधानमन्त्री केपी ओली छलफलमा उपस्थित भएनन् । छलफलमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा.बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाललगायत नेता सहभा भए। छलफलमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।
प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक गरेका हुन् । संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका पेश गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि सभामुख सापकोटाले यसलाई असंवैधानिक भनेका छन् ।
गत जेठ १३ गते उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए ।छलफलमा सापकोटाले जनतालाई केन्द्रबिन्दुमा राखेर असाधारण निर्णय लिनसक्ने बताएका थिए ।