कोरोना सन्क्रमण बढेसंगै टोकियो ओलम्पिक रद्द गर्न चिकित्सक संघको आग्रह

एजेन्सी । जापानमा नयाँ भेरियन्ट देखा परेसँगै कोरोना संक्रमितको संक्रिय संख्या पनि दिनदिनै बढिरहेको छ । त्यहाँ बिहीबार (मे १४ तारिख) सात हजार ५८ जना नयाँ संक्रमित थपिएका छन् भने १०१ जनाको मृत्यु भएको छ । वल्डोमिटरको पछिल्लो आंकडा अनुसार जापानमा हालसम्म कुल ६ लाख ५८ हजार ६२९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । त्यस्तै ११ हजार १६५ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख ७३ हजार ९१३ जना संक्रमणमुक्त भएका छन् ।

यसैबीच कोरोना महामारी जारी रहेको भन्दै जापानी चिकित्सकहरुको राष्ट्रिय संघले टोकियो ओलम्पिक र पाराओलम्पिक रद्द गर्नुपर्ने बताएको छ । संघका सदस्यहरुले बिहीबार प्रधानमन्त्री योशिहिदे सुगालाई ओलम्पिक रद्द गर्नुपर्ने भन्दै लिखित पत्र पेश गरिसकेका छन् । ‘खेलाडीका लागि कठिन छ र कसै न कसैले खेल रद्द गर्नुपर्ने भनेर बताउन आवश्यक छ’, संघका अध्यक्ष नाओटो वुइयामाले पत्रकार सम्मलेनमा बोल्दै भने, ‘स्वास्थ्यकर्मीहरु बोल्नु पर्ने भएर हामीले सरकारसमक्ष अनुरोध गरेका छौं ।’ खेल आयोजना गरियो भने विश्वभरका खेलाडी, प्रशिक्षक, अफिसियल्स र पत्रकार जापान आउने र दर्शकबिनै खेल आयोजना भएपनि भाइरस फैलिन सक्ने जोखिम रहेको वुइयामाको भनाइ छ । महामारीबीच सुरक्षित तरिकाले ओलम्पिक खेल आयोजना गर्न असंभव रहेको पनि उनले बताए ।

यही जुलाई २३ मा टोकियो ओलम्पिक उद्घाटन गर्ने कार्य तालिका तय भइसकेको छ । तर कोभिड-१९ को महामारीबीच जापानले वृहत् प्रकृतिको प्रतियोगिता आयोजना गर्न र भाइरसबाट खेलाडीसहितका मानिसलाई सुरक्षित राख्न सक्छ/सक्दैन भन्ने आशंका बढिरहेको छ । जापानमा कोरोना भाइरसको चौथो लहर सुरु भएपछि उक्त आशंका थप बढेको छ । चौथो लहरसँगै संक्रमण र मृत्यु दर बढेपछि टोकियोसहितका सहरमा मे महिनाभर आपतकाल लागू गरिएको छ ।