सांसदलाई कोरोनाविरुद्ध दोस्रो डोजकाे खोप आजबाट लगाइँदै
काठमाण्डौ । कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आजदेखि लगाइने भएको छ । सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरेको हो । पहिलो चरणमा कोभिसिल्ड खोप लगाएको आठ हप्ताको अवधि पूरा गरेका, खोप लगाएपछिको अवधिमा कोरोना संक्रमित भए पनि २८ दिनको समयावधि पूरा गरेका व्यक्तिले दोस्रो डोज खोप लगाउन पाउनेछन् ।
सचिवालयका अनुसार आज प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूको पालो तोकिएको छ । यस्तै शुक्रबार नै सभामुख, अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूका स्वकीय सचिवालयका कर्मचारीको पनि खोपको पालो तोकिएको छ । यस्तै शनिबार सङ्घीय संसद् सचिवालयका सम्पूर्ण कर्मचारी र सङ्घीय संसद् भवन बानेश्वर (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र)का कर्मचारीलाई खोप लगाइनेछ । यस्तै, आइतबार स्वकीय सचिवलगायतका सबै कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा छुटेका अन्य व्यक्तिलाई खोप लगाइनेछ ।