नेपाललाई सहयोग गर्न उपमेयर काउन्सिलर लक्ष्य गुरुङले बेलायत सरकार समक्ष अनुरोध
लन्डन । कोरोनाको दोश्रो लहरका कारण हाल नेपालमा बिद्यामान बिकराल परिस्थितीमा सहयोग गर्न स्थानीय लण्डन बोरो अफ बार्नेटका उपमेयर लक्ष्य गुरुङले आफ्नो क्षेत्रको सांसद मार्फत बेलायत सरकारलाई सहयोगको लागि पत्रचार गरेको कुरा जानकारी गराउनु भएको छ । उपमेयर गुरुङले नेपालको भयबह स्वास्थ्य संकटको बेला बेलायत सरकारबाट सहयोग गर्नुहुन अनुरोध गरेको कुरा अबगत गराउनुभएको छ । उपमेयर काउन्सिलर लक्ष्य गुरुङले आफ्नो क्षेत्रका सांसद डा. म्याथ्यू अफोर्डलाई एक पत्र लेख्दै ब्रिटिश सरकारसंग सहयोगका लागि पहल गरिदिन अनुरोध गर्नुभएको छ ।
छीमेकी राष्ट्र भारतमा स्वास्थ्य संकट परेको बेला जसरी यूकेस्थित भारतियाहरुले सहयोग गरिरहेका छन् र बेलायत सरकारलाई मध्दतकोलागी अनुरोध गर्नुभयो त्यस्तै जस्तो नेपालको बर्तमान परिस्थितीलाई मध्यनजर गर्दै सहयोगको लागि अपील गरेको कुरा गुरुङले जानकारी गराउनुभयो । गुरुङले भारतमा हाल बढिरहेको नयां भेरियन्ट भाईरस र खुल्ला सीमाको कारण नेपाल पनि कोरोनाबाट नराम्ररी प्रभावित भएको स्थिती ध्यानाकर्षण गराउदै स्वास्थ्य सामग्री लगयात अन्य अतिआबश्यक बस्तुहरु सहयोग गर्नुहुन अनुरोध गरेको कुरा बताउनुभयो । उहाले कोभिड महामारीका कारण अस्पतालहरु भरिएका र अक्सिजन अभावले बिरामी मरिरहेको कुरा सांसद म्याथुलाई ध्यानकर्षण गराउनुभएको छ ।
जवाफमा- सांसद डा म्याथु अफोर्डको सहयोगी वरिष्ठ अनुसन्धानकर्ता जर्ज बोसले सांसद अफोर्ड र बेलायत सरकार नेपालको बर्तमान अवस्थाबारे जनकार रहेको र विदेश मन्त्रालयसमक्ष संसदीय प्रश्न सोध्ने प्रतिबध्दता गर्नुभएको छ । उपमेयर काउन्सिलर गुरुङललाई बेलायत सरकार नेपाललाई सहयोग गर्न गृहकार्यमा गरीरहेको कुरा जानकारी गराएको छ ।
हाल कोभिड संक्रमण तीव्र फैलिएपछि बेलायत सरकारले नेपाल र भारतलाई रेड लिष्टमा (प्रतिबन्धित क्षेत्रमा) राख्नु साथै नेपाल हुँदै र भारतबाट हुने सम्पूर्ण अन्तरराष्ट्रिय उडानहरु बन्द गरिएको छ ।