पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त, शपथ लिए
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् । गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् ।
प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि दिएको ७२ घण्टे समय सीमाभित्र कांग्रेस, माओवादी र जसपासहितको विपक्षी गठबन्धले बहुमत जुटाउन नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन् । बुधबार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भनी दावी पेश गरेका थिए । तर प्रदेश प्रमुख पौडेलले पोखरेलको दावी नपुग्ने भन्दै संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।
समचार स्रोतका अनुसार मुख्यमन्त्री गुरुङ कोरोना संक्रमितसमेत रहेका छन् । उनलाई आवश्यक स्वाथ्य मापदण्ढ पूरा गरेर मुख्यमन्त्रीमा पुनः नियुक्त गरिएको । अब गुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ । पुन:मुख्यमन्त्री बनेका गुरूङले कोभिड कोषमा ४ करोड जम्मा गर्ने पहिलाे निर्णय गरेका छन् ।