ओलीलाई दिएको ‘अल्टिमेटम’ सकियो, सामुहिक रजिनामा दिने तयारी
काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको ‘अल्टिमेटम’ सकिएसँगै नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरु छलफलमा जुटेका छन् । नेपाल समूहले प्रधानमन्त्री एवं अध्यक्ष ओलीसमक्ष ६ बुँदे प्रस्ताव राखी आज अहिले ९ बजेसम्मका लागि अल्टिमेटम दिएको थियो । उक्त समय सकिएपछि नेपाल पक्षका सांसदहरु संसद् सचिवालयमा छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकार संकटमा परेपछि आज विश्वासको मत लिँदै हुनुहुन्छ । आफ्नो पक्षमा मतदान गर्न हिप जारी गरेपनि आफ्नै दलको नेपाल झलनाथ समूहल साथ नदिने देखिएको छ । संसद सचिवालयको बैठक सकिएपछि सामूहिक राजीनामा दिने तयारी रहेको बताइएको छ । कांग्रेस माओवादी गठबन्धनको संसदमा बहुमत पुग्नेगरि नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेका छन् ।
नेपाल खनाल पक्षले पनि प्रधानमन्त्रीलाई ६ बुँदे प्रस्ताव राखेर सच्चिन आग्रह गरेको छ । नसच्चिएमा आफ्नो पक्षका सांसदले सामुहिक राजीनामा दिने धम्की नेपाल खनाल पक्षले पटकपटक दिँदै आएका छन् ।
दुःखका साथ भन्नुपर्छ, अब सकियो
त्यस्तै नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसदहरुले अब पार्टी एक हुन नसक्ने निष्कर्ष निकालेका छन् । सिंहदरबारमा भेला हुन पुगेका सांसदहरुले अब पार्टी एक हुन नसक्ने निष्कर्ष निकालेका छन् । बैठकमा सहभागी हुँदै गर्दा एमाले नेता झपट रावलले पत्रकारहरुसँग कुरा गर्दै अब पार्टी सकिने अवस्थामा पुगेको बताए ।
“हामी सबै पार्टी एकताको लागि प्रयत्नमा थियौँ । केपी ओलीबाट पार्टी एकताका लागि पहल भएन । एकताभन्दा भाँड्ने काम भयो । कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न पार्ने काम भएकाले अब दुखका साथ भन्नुपर्छ सबै प्रयास असफल भए । अब सकियो ।”