माधव नेपाललाई भेटेपछि सुवास नेम्वाङले यसो भने
काठमाण्डौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निकट दुई नेता र पार्टी वरिष्ठ नेता माधवकुमार नेपालबीच डेढ घण्टा लामो संवाद सम्पन्न भएको छ । विश्वासको मतमा भोटिङ हुनु भन्दा एक दिन पहिला वरिष्ठ नेता नेपाललाई ओली निकट नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेलले सिंहदरबारमा छलफल गरेका हुन । एमालेलाई एकताबद्ध बनाउने कुरामा दुबै पक्ष सहमत भएको तर अहिले देखिएका समस्या समाधानका लागि ठोस आधारको खोजी गर्नुपर्ने नेता नेम्वाङले बताए ।
बैठकसम्बन्धी जानकारी नेम्वाङकै शब्दमाः
प्रधानमन्त्रीज्यू र कमरेड माधव नेपालबीच फोन सम्पर्क भएपछि यो भेटघाट तय भएको हो। प्रधानमन्त्रीज्यूले कमरेड विष्णु पौडेल र मलाई माधव कमरेडसँग कुराकानी गर्न पठाउनु भएको हो । माधव कमरेडसँग हामीले अहिलेको समस्या र पार्टी एकताको विषयमा गम्भिर छलफल गर्यौं । धेरै खुलस्त कुरा गर्यौं। प्रधानमन्त्रीज्यूको चिन्ता र सरोकारको कुरा उहाँ समक्ष राख्यौं। सम्पूर्ण पार्टीपंक्तिको चिन्ता र सरोकारका कुरा पनि राख्यौं ।
माधव कमरेडले पनि आफ्ना कुरा खुलस्त ढंगले हामीलाई सुनाउनु भयो । उहाँका ती कुराहरू हामी पार्टी अध्यक्षसम्म पुर्याउँछौं ।
एकदमै सकारात्मक एउटा कुरा के छ भने पार्टी एकता बनाउनु पर्छ भन्नेमा विवाद छैन । आजको कुराकानीमा पनि त्यो कुरा प्रतिविम्वित भएको पाएका छौं । तर अहिले देखिएका समस्यालाई कसरी समाधान गर्ने? र कसरी यसलाई टुँगोमा पुर्याउने? भन्ने हामी सबैको चिन्ता हो । आजको कुराकानीमा पनि त्यो चिन्ता अभिव्यक्त भएको हामीले पायौं । यो विषयलाई छलफल गरेर भरसक चाँडो टुँगोमा पुर्याउने र त्यसका लागि ठोस आधार के हुनसक्छ? सल्लाह गर्ने र फेरी पनि भेटघाट गरेर पार्टीलाई एकताबद्ध गराउने भन्ने विषयमा कुराकानी भयो ।