ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार कोभिड नियन्त्रणमा पूर्ण रूपमा असफल भएको आरोप लगाएको छ । शुक्रबार साँझ एक विज्ञप्तिमार्फत कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण दिनप्रतिदिन बढिरहँदा सरकार भने भ्रष्टाचारमा ‘चुर्लुम्म डुबेको’ बताएका छन् । “कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बावजूद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था गरेन,” देउवाले विज्ञप्तिमा लेखेका छन् । उनले नागरिकको जीवन रक्षा गर्नुपर्ने बेलामा सरकारले भ्रष्टाचार गरेर अमानवीय, अनैतिक र गैरजिम्मेवार व्यवहार देखाएको आरोप समेत लगाएका छन् ।
“अहिले कमिसनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ । सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होईन । जनताको जिवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो । जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जिवनदायीनी औषध (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
देउवाले सरकारसँग भष्टाचारमा संलग्नलाई कारबाहीको माग गरेका छन् । उनले कोरोना संक्रमितको उपचारका लागि तत्ताका आवश्यक व्यवस्था गर्न पनि माग गरेका छन् । “सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भत्र्सना गर्दछु । यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु । नेपाली जनताको जिवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको तत्काल व्यवस्था गर्न माग गर्दछु,” उनले विज्ञप्तिमा भनेका छन् ।