‘बादल’ काे उम्मेदवारी दर्ता, मुख्यमन्त्री प्रस्तावक अर्का मन्त्री समर्थक
काठमाडाैं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ ।वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् । देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन् ।
पार्टीले निर्णय गरेपछि सिम्रिक एयरको हेलिकप्टरबाट एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहित गृहमन्त्री बादल हेटौंडा पुगेका थिए ।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।
यससँगै राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि तीनजनाको उमेदवारी दर्ता भएको छ । वाग्मती प्रदेशअन्तर्गत आउँदो जेठ ६ गते हुन लागेको उपनिर्वाचनका लागि तीनजनाको उमेदवारी दर्ता भएको हो ।