भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु, चार लाख १२ हजार संक्रमित

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९ सय ८० जनाको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या दुई लाख ३० हजार १ सय ६८ पुगेको छ ।

भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा देशभरी गरेर कुल चार लाख १२ हजार २६२ जना संक्रमित भएको जानकारी दिएको छ । एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल दुई करोड १० लाख ७७ हजार ४ सय १० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २९ हजार १ सय १३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड ७२ लाख ८० हजार ८ सय ४४ पुगेको छ ।

भारतमा अहिले पनि ३५ लाख ६६ हजार ३ सय ९८ जना कोरोनाभाइरसबाट संक्रमित भइरहेकै अवस्थामा रहेका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यही मे ५ तारिखसम्ममा भारतमा २९ करोड ६७ लाख ७५ हजार २ सय ९ कोभिडको नमुना परीक्षण गरिएको छ । ती मध्ये १९ लाख २३ हजार १ सय ३१ जनाको बुधबार परीक्षण गरिएको हो ।

भारतमा अहिलेसम्म १६ करोड २५ लाख १३ हजार ३ सय ३९ मात्राको कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ ।भारतमा कोरोनाको परीक्षण र खोप अभियान एकातिर चलिरहेको छ भने अर्कोतिर कोरोना भाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ ।