माओवादी केन्द्रद्वारा एक मेयर र चार उपमेयरलाई स्पष्टीकरण

जनकपुरधाम– नेकपा (माओवादी केन्द्र)ले आफ्ना चार जना जनप्रतिनिधिसँग स्पष्टीकरण सोधेको छ । नेकपा माओवादीबाट निर्वाचित भए पनि एमालेमा लागेको भन्दै धनुषाका चार स्थानीय तहका एक मेयर र तीन जना उपमेयरलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।धनुषाका विदेह नगरपालिकाका प्रमुख बेचन दास, शहीदनगर नगरपालिकाका उपप्रमुख शिला देवी कापर, सबैला नगरपालिकाका उपप्रमुख निलुदेवी कापर र विदेह नगरपालिकाकै उपप्रमुख निलम देवी मण्डलसँग स्पष्टीकरण सोधेको माओवादी केन्द्रका जिल्ला सचिव दिपक यादवले बताए।

चारै जना जनप्रतिनिधिलाई सोमबार पत्र पठाइएको छ । यादवले पार्टी एकता खारेज भएर पहिलेकै अवस्थामा गइसके पनि उनीहरूको सक्रियता माओवादीमा नभएर एमालेका कतिपय कार्यक्रमहरुमा देखिएकोले स्पष्टीकरण सोधेको बताए । सचिव यादवले तीन दिनभित्र लिखित स्पष्टीकरण जिल्ला कार्यालयमा पेस गर्न भनेका छन् ।

स्पष्टीकरण पत्रमा माओवादी केन्द्र धनुषाका ईन्चार्ज योग कुमार बरबरिया यादव (जीवन) र जिल्ला सचिव दिपक यादवको संयुक्त हस्ताक्षर रहेको छ । यता विदेह नगरपालिकाका नगरप्रमुख बेचन दासले पार्टी एकता कायम रहेसम्म आफू नेकपाको कार्यक्रमहरुमा सहभागी भएपनि सर्वोच्चको फैसलापछि एमालेका कुनै कार्यक्रममा सहभागिता नजनाएको बताए । उनले पार्टीद्वारा सोधिएको स्पष्टीकरणलाई सकारात्मक रुपमा लिएको र यसको जवाफ भोलि नै पठाउने बताए ।