निषेधाज्ञामा अनधिकृत प्रचार सामग्री हटाउँदै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले सडकमा असरल्ल छोडिएका अनधिकृत निर्माण तथा प्रचार सामग्री हटाउँदै छ । नगर प्रहरीले त्यसको व्यवस्थापन गरिरहेको हो । सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने, वातावरण व्यवस्थापन विभागसँग मिलेर सडक र किनाराको सफाइलगायत काम पनि गरिरहेको छ ।
नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा भन्छन्, ‘‘सबैको काम गर्ने ठाउँ सडक नै हो । तर, काम सकेर उब्रिएका सामान कसैले थन्क्याउँदैनन् । यसले सडकका ठाउँ–ठाउँमा केही न केही अनावश्यक सामग्री थुप्रिएका छन् । यस्ता सामग्रीसँगै भत्किएका वा टुक्रिएका बार, पिलर, खम्बालगायत सामाग्री हटाउँदैछौँ ।” महानगरका ठूला आठवटा आकाशे पुलमा राखिएका प्रचार सामग्री नगर प्रहरीले हटाएको छ । स्टिकर टाँसेर लगाइएका सामग्री उक्काउन कठिन भएकोले रङ पोतेर छोडिएको छ ।
आफ्ठ्यारो ठाउँमा राखिने भएकोले यस्ता सामग्री हटाउन सुरक्षाका दृष्टिले जोखिमपूर्ण छ । तर, यसको व्यवस्थापनका लागि सम्झौता गर्ने पक्षले सम्झौताबमोजिम राजस्व तिर्नेलगायत काम नगरेकाले हामीले जोखिम मोलेरै भए पनि प्रचार सामाग्री हटाएका हौँ,” सापकोटाले भने ।