जसपा फुटको संघारमा, पैसाको झोलासहित घरदैलो गर्दैछन् : नेता विश्वदीप पाण्डे
काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईका निकट सहयोगी विश्वदीप पाण्डेले जसपा नेपाल फुटको सँघारमा पुगेको स्वीकार गरेका छन् । सोमवार रातिदेखि जसपाका सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यको घर दैलोमा पैसाको झोलासहित देशी विदेशी शक्तिहरूले घरदैलो गरिरहेको आरोप पाण्डेले लगाएको छ ।
पाण्डेले सामाजिक सञ्जालमा लामो वक्तव्य दिँदै उनले भनेका छन्, ‘हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ । त्यो पैसाको झोला फिर्ता गर्ने सांसद, सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ । पाण्डेले सत्ता टिकाउन अहिलेको सरकार जे पनि गर्न तयार रहेको र प्रमुख प्रतिपक्ष कांग्रेस तमासे बनेको आरोप लगाएका छन् ।
उहाले फेसबुक स्टाटसमा यस्तो लेख्नुभएकोछ-
नेपालको संसदीय राजनीतिमा पजेरो काण्ड, बैङ्कक काण्ड, सुरासुन्दरी काण्डलगायतका अनेकन कुख्यात काण्डहरूले कालो दाग छोडेका छन् । यो बीचमा नेपालको नदीनालामा निकै पानी बग्यो । पानी मात्रै होइन, हजारौं नेपालीको रगत र पसिना पनि बग्यो । व्यवस्था परिवर्तन गर्ने क्रान्ति र आन्दोलनहरु भए । जसले संसदीय राजनीतिमा लागेको त्यो दाग मेट्ने अपेक्षा गरिएको थियो । सुसंस्कृत राजनीति मार्फत । तर विडम्बना ती घृणा गर्न र बिर्सनलायक सबै काण्डलाई माथ गर्ने खालको, संसदीय राजनीतिलाई थप विकृत बनाउने कुकृत्य नेपाली राजनीतिमा पुनः हुन थालेको छ । सत्तासीन पार्टी आफू सत्तामा टिकिराख्न जुनसुकै स्तरमा गिर्न पनि तयार भएर आएको छ । प्रतिपक्षी दल पनि अराजनीतिक नाङ्गो नाँच हेरेर आनन्द मानिरहेको छ । काँग्रेस एमालेको विकल्प दिन भनेर राजनीतिमा उदाउने उद्घोष गरेको जसपा नेपाल करिब करिब फुटको संघारमा पुगेको छ । हामी सकभर फुट रोक्न प्रयासरत त छौं तर हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ । त्यो पैसाको झोला फिर्ता गर्ने सांसद/कार्यकारी समिति सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ । यस्तो स्थितिमा जसपा फुटमा रमाउने भन्दा पनि लोकतन्त्र बचाउन र सुसंस्कृत राजनीति गर्नतर्फ लागौं ! यो जसपाको मात्रै सरोकारको विषय होइन, पूरै लोकतन्त्र र देशको राजनीति कता लैजाने भन्ने गम्भीर विषय हो । यस्तो दुष्प्रवृत्ति नरोक्ने हो भने दुई दशकअघिको राजनैतिक कुसंस्कार थप झ्याँङ्गिदै जानेछ । क्रान्ति र आन्दोलनमा भएका वलिदानहरू खेर जानेछ । जनताका अपेक्षाहरू धुमिल हुनेछ । त्यसकारण यसलाई बेलैमा रोकौं, सबै सचेत बनौं । हाम्रो पुस्ता त यस्तै भयो, कम्तिमा हुर्कँदै गरेको भावी पुस्ताको लागि सोचौं ।