गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त, सपथ ग्रहण आजै

काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार केहीबेरमा विज्ञप्ति सार्वजनिक हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुवैलाई पदमुक्त गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

गण्डकी प्रदेश प्रमुखमा नवनियुक्त चितवनकी पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकारसमेत हुन् । सुदूरपश्चिम प्रदेश प्रमुखमा नवनियुक्त सप्तरीका गंगाप्रसाद यादव राप्रपा नेपालका तर्फबाट यसअघि उपसभामुख भएका थिए । र, पछिल्लो समय नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नवनियुक्त प्रदेश प्रमुखलाई केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहण गराइने जनाइएको छ । यसअघिका दुबै प्रदेश प्रमुख माओवादी केन्द्र निकट हुन् ।