पूर्वप्रधानमन्त्री खनाललाई कोभिड-१९ संक्रमण, माधवकुमार नेपालको ध्यानाकर्षण

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि खनाललाई मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई नर्भिक अस्पतालमा पुर्‍याइएको नर्भिकका एक चिकित्शकले बताए ।

खनाललाई केही समयदेखि नै मृर्गौलामा समस्या थियो । उनको यसअघि प्रोस्टेटको शल्यक्रिया गरिएको थियो ।

नेता खनालको उपचारमा यथेष्ट ध्यान दिन अर्को नेता माधव नेपालको

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।उनले खनालको उपचारमा यथेष्ट ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षणसमेत गराएका छन् । “हाम्रो पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री कमरेड झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै, उहाँको उपचारमा यथेष्ट ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षणसमेत गराउँछु,” नेता नेपालले फेसबुकमा लेखेका छन् ।

यसैबीच एमालेका अर्का नेता मोदनाथ प्रश्रितलाई संक्रमण भएको स्रोतले जनाएको छ ।