चलचित्रमा लगानी गरेर जोखिम लिन व्यापारिक घरानाले पनि चाहेन
काठमाडौं । नेपाली चलचित्र उद्योगमा व्यापारिक घरानाको लगानी भित्र्याउन नसकिएको निर्देशक प्रदीप भट्टराई बताउँछन् । नेपालमा आधा सताब्दी लामो चलचित्रको इतिहास भए पनि अझै पनि व्यापारिक घराना चलचित्रमा आकर्षित हुन नसकेको प्रदीप बताउँछन् । व्यापारिक घरानाबाट ठूलो लगानी चलचित्रमा आउन सके नेपाली चलचित्रको विकास पनि अपेक्षित हुने उनको भनाइ छ । “नेपाली चलचित्रमा ठूलो लगानीको अभाव छ । ठूलो बजेटको अभावमा थुप्रै विषयमा काम गर्न सकिएको छैन,” निर्देशक प्रदीप भन्छन्, “ऐतिहासिक, राजनीतिक विषयमा लगानीकै अभावमा चलचित्र बनाउन नपाएको अवस्था छ ।”
केही व्यापारिक घरानासँग चलचित्रका लागि छलफल भए पनि उनीहरु ठूलो लगानी गर्न तयार नभएको उनको अनुभव छ । व्यापारिक घरानाहरुसँग ठूलो लगानीका लागि आफूहरुले प्रस्ताव गरे पनि उनीहरु पछि हटेको प्रदीप सुनाउँछन् । “केही व्यापारिक घरानाहरुले हामीलाई पनि चलचित्र निर्माणका लागि प्रस्ताव गर्नुभयो । केही चरणमा छलफल पनि भयो,” निर्देशक प्रदीप भन्छन्, “सुन्दा तीतो लाग्छ तर उहाँहरु पनि एक/डेढ करोड लगानी गरौं, त्यसबाट नाफा कमइहालौं भन्ने सोचमा रहेको पाइयो । डेढ/दुई करोड लगानी त हामी आफैं जुटाउन सकिहाल्छौं, किन यद्योगी व्यावसायी नै चाहियो ?”
चलचित्रमा ठूलो लगानी गरेर रिस्क लिन उद्योगी व्यवसायी पनि तयार नरहेको उनी सुनाउँछन् । चलचित्र देशको कला, संस्कृति र साहित्यको लाइब्रेरी पनि भएकाले यसमा गरिएको लगानी देशको कुनै एकसमयको समाज, परिवेश तथा पहिचानको संरक्षण पनि हो भन्ने बुझाई व्यापारिक घरानामा विकास हुनुपर्नेमा उनको जोड छ । केही उद्योगीहरुले सम्भावना बोकेका मेकरहरुलाई सानो लगानी प्रस्ताव गरिरहेको उनी बताउँछन् । व्यापारिक घरानाले ठूलो लगानी गरेर राम्रा चलचित्र बनाउन सकेको अवस्थामा नेपाली चलचित्रको विदेशी बजार खोज्न सहज हुने प्रदीपको धारणा छ ।