कारवाहीमा परेका जसपा नेपालका चार प्रदेश सांसद सर्वोच्च अदालतमा

काठमाण्डौ । जनता समाजवादी पार्टी कार्यकारिणी समितिको बैठकबाट कारवाहीमा परेका चारजना सांसद सर्वोच्च अदालत पुगेका छन् । प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले आफूमाथि गरिएको कारवाहीको विरुद्धमा रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् । उनीहरुले रिटमा लुम्बिनी प्रदेशसभालाई पनि विपक्षी बनाइएको छ ।

​जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा वैशाख १४ गते बसेको कार्यकारिणी समितिको बैठकले चारजना सांसदलाई कारवाही गर्ने निर्णय गरेको थियो । सो निर्णयसहित हिजो पार्टीको प्रदेश समिति मार्फत प्रदेशसभामा निवेदन दिएपछि उनीहरुमाथि कारवाही भएको हो । उनीहरुलाई कारवाही गर्नका लागि ५१ जना केन्द्रीय कार्यसमिति सदस्यमध्ये २६ जनाले हस्ताक्षर गरेका छन् ।

आजै पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर पनि कारवाहीको निर्णयविरुद्ध निर्वाचन आयोग पुगेर ध्यानाकर्षण गराएका छन् ।