विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्ने मुख्यमन्त्री राईको संकेत
सुनसरी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउन सकिने बताएका छन् ।
कोशी अस्पताल (कोभिड-१९) उपचार केन्द्रअन्तर्गत सञ्चालित नागरिक केयर सेन्टरको आज अवलोकन गर्दै उनले विराटनगर कोरोनाको मुख्य केन्द्रबिन्दु रहेकाले एक दुई दिनको अवस्था हेरर सुरक्षा, प्रशासन, स्थानीय निकाय एवं सबैको सहयोगबाट प्रदेश सरकारले छलफलपश्चात् आवश्यक सावधानीका लागि निषेधाज्ञा लगाउने निर्णय गर्नुपर्ने हुन सक्ने जानकारी दिए । उनले सुनसरी जिल्लामा निषेधाज्ञा लागू भएको र यहाँ पनि कोरोना नियन्त्रणका लागि सावधानीको पूर्वतयारीका रूपमा निषेधाज्ञा लगाउनुपर्ने हुन सक्ने बताए ।
मुख्यमन्त्री राईले निषेधाज्ञाको अवस्थामा गरिब एवं विपन्नहरूको आवश्यकतालाई ध्यानमा राखी उद्योग, व्यापारी र नागरिक समाजको सहयोगमा विगतको अनुभवका आधारमा सरकारले काम गर्ने विचार व्यक्त गरे । उनले सङ्क्रमितको सङ्ख्या जतिसुकै वृद्धि भए पनि उपचारमा कुनै कमी हुन नदिन यस क्षेत्रका निजी अस्पताल, शिक्षण अस्पताललगायतसँग आवश्यक सम्झौता गरी उपचारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।जिल्लामा स्थानीयस्तरमा कोरोना सङ्क्रमितको सहज र गुणस्तरीय उपचारका लागि सम्पूर्ण जिल्लामा २० शय्याको आइसोलेसन र उपचार कक्ष निर्माणका लागि आवश्यक निर्देशन एवं बजेट व्यवस्था गरिएकाले बिरामीको स्थानीयस्तरमा उपचार हुने उनको भनाइ थियो ।
मुख्यमन्त्री राईले प्रदेशको खुला सीमा क्षेत्रमा आवश्यक जाँचमा कडाइ गर्नाका साथै मुख्य सीमा नाकाहरु गौरीगञ्ज, भाण्टाबारी, रानी, काँकडभिट्टा, पशुपति नगरसहित जिल्ला प्रवेशद्वारका रुपमा रहेको सोलु, ओखलढुङ्गा, खोटाङमा होल्डिङ सेन्टर, क्वारेन्टिन निर्माणका लागि निर्देशनसहित बजेटका व्यवस्था गरिएको जानकारी दिए । सामाजिक विकासमन्त्री उषाकला राईले सङ्क्रमितको उपचारका लागि विशिष्टीकृत सेवासहित आवश्यक जनशक्तिको व्यवस्था गरिएकाले केन्द्रले गुणस्तरीय सेवा प्रदान गर्ने बताइन् । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले केन्द्रलाई भविष्यमा आवश्यक पर्ने जनशक्ति करारमा उपलब्ध गराउने जानकारी दिए ।
कोशी अस्पताल (कोभिड-१९) उपचार केन्द्रको हाताभित्र सञ्चालित नागरिक केयर सेन्टर आजदेखि पुनः सञ्चालन भएको छ। सेन्टर र केन्द्रको गरी १८० शय्यामध्ये २८ भेन्टिलेटर आइसियु र बाँकी सबै शय्या अक्सिजन र एचडियू रहेको छ ।
रासस