रारा तालमा धमाधम साइकल मार्ग निर्माण हुँदै

मुगु । नेपालकै ठूलो ताल रारा महेन्द्र तालको वरिपरि साइकल मार्ग धमाधम निर्माण भइरहेको छ । कर्णाली प्रदेशको मुख्य पर्यटन आकर्षणको केन्द्रविन्दू मानिएको तारा तालको किनारमा कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको २ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोगमा साइकल मार्ग निर्माण भइरहेको हो ।

२०७७ साल असोज १ गते कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले रारा तालको किनारमा साइकल मार्गको शिलान्यास गरेका थिए । शंकरमाली निमार्ण सेवाले साइकल मार्ग निर्माणको जिम्मा पाएको छ । अब रारा तालको वरिपरि १४.५ किलोमिटर साइकल मार्ग निर्माण हुनेछ । त्यस्तै, हरेक वर्ष क्रमिक रुपमा साइकल मार्ग निर्माण हुने डिभिजन वन कार्यालय मुगुका कार्यालय प्रमुख भरत बहादुर बुढथापाले बताए । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु सल्लेरीसम्म गाडीमा र सल्लेरीदेखि आधा घण्टामा घोडामा रारा ताल पुग्ने गरेका छन् ।

पर्यटकहरु रारा पुगिसकेपछि सहज रुपमा तालको अवलोकन तथा मनोरञ्जन लिनका लागि साइक्लिङ मार्ग निर्माण गरिएको वन डिभिजन कार्यालय मुगुका प्रमुख बुढथापाले बताए ।