उपमेयर काउन्सिलर लक्ष्य गुरुङको पहलमा लण्डनको बार्नेट शहर र पोखरा महानगरबिच मितेरी सम्बन्ध
लन्डन । बेलायतको स्थानीय राजनितीमा उच्चतम पदमा पुग्न सफल नेपाली उपमेयर काउन्सिलर लक्ष्य गुरुङको पहलमा र स्थानीय लण्डन बोरो अफ बार्नेटको मेयर- डाक्टर तथा बैज्ञानिक क्यारोलिन स्टोकको सहयोगमा तथा अन्य पार्टीहरुको प्रतिनिधी र काउन्सिलरहरुको समर्थनमा लण्डनको बार्नेट शहर र नेपालको पोखरा महानगरपालिकाबिच मितेरी सम्बन्ध कायम गरिने प्रतिबध्दता हिजो भर्च्युल मीटीङ मार्फत सहमती भएको छ । लण्डन बोरो अफ बार्नेट काउन्सिलले एउटा असाधारण (अतिरिक्त) भर्च्युल बैठक आयोजना गरी दुई नगरहरुबिच मितेरी (भगिनी) सम्बन्ध कायम गर्ने प्रतिबध्दता सर्बसहमतिले पास वा निर्णय गरेको छ । मित लगाउने प्रस्तावना उपर सहभागी राजिनितीक पार्टीका प्रतिनिधीहरु र कान्सिलरहरुको समर्थन वा असमर्थन बुझ्दा सबैले समर्थन जनाउनु भएको थियो । प्रजातान्त्रिक तरिकाले सर्बसहमतिमा मितेरी सम्बन्ध कायम गरिने भएपछी मेयर क्यारोलिन र उपमेयर गुरुङले खुशी ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बार्नेट बोरोको मेयर डा क्यारोलिनले बार्नेट शहरको भौगोलिक, साँस्कृतिक, जनसंख्या र अन्य रहसहन चालचलन सम्बन्धी जानकारी गराउनुभएको थियो । मेयर क्यारोलिनले बार्नेट शहर वास्तवमै बहुजाती अनि बहुसांस्कृतिक बिबिधता भएको शहर हो र पहिला पनि थुप्रै देशका शहरहरुसँग मितेरी सम्बन्ध कायम गरिसकेको कुरा जानकारी गराउनुभयो । उहाले फेरी अर्को शहर- नेपालको पोखरा महानगरपालिकासँग मितेरी सम्बन्ध गांस्न पाउनु गर्बको कुरा हो भन्नुभयो । त्यस्तै नेपालको तर्फबाट उपमेयर काउन्सिलर गुरुङले पनि पोखरा शहरको भौगोलिक, साँस्कृतिक, जनसंख्या र अन्य रहसहन चालचलन सम्बन्धी जानकारी गराउनुभएको थियो । बैठकमा उपमेयर गुरुङले मातृभूमी पोखरालाई लण्डनको बार्नेट शहरसँग मित लगाउने आफ्नो शुरुदेखीकै लक्ष्य अनि सपना रहेको र आज त्यो सपना पुरा हुने अवस्थामा पुग्दा ज्यादै गर्ब अनि खुशी लागेको कुरा ब्यक्त गर्नुभएको थियो । उपमेयर गुरुङले यस मितेरी सम्बन्धले दुबै पक्षलाई लाभान्वित हुनेमा आफ्नो विश्वाश रहेको कुरा बताउनुभयो । कान्सिलर उपमेयर गुरुङले समय र मौका मिलेमा पोखरा घुम्नलाई नि अनुरोध गर्नुभयो ।
औपचारिक रुपमा मितेरी गास्ने कार्य आगमी मे १९ तारिख हुने र यस सम्बन्धमा पोखरा महानगरपालिका अवगत रहेको कुरा उपमेयर गुरुङले जानकारी गराउनुभयो । बैठकमा नेपाल पक्षबाट- एनआरएनए यूकेको अधक्ष्य पुनम गुरुङ, पोखरेली मन्च यूकेको अधक्ष्य मान प्रसाद गुरुङ, एनआरएनए यूकेको पूर्व अधक्ष्य तथा सम्रक्षक सुर्य गुरुङ र बरिष्ठ पत्रकार भागीरथ योगी सहभागी हुनुहुन्थ्यो ।