पर्सामा २४ घण्टाभित्रै कोरोना संक्रमित पाँच महिलाको मृत्यु

पर्सा । पर्सामा २४ घण्टा नपुग्दै कोरोना संक्रमित ५ जना महिलाको मृत्यु भइसकेको छ । मंगलबार बिहान दुईजना सहित पछिल्लो २४ घण्टाभित्र त्यहाँ ५ जना महिलाले ज्यान गुमाएका हुन्‌ । सोमबार बिहान साढे ९ बजे वीरगञ्‍ज-६ आदर्शनगरकी ६० वर्षीया महिलाको मृत्यु भएको थियो । त्यसयता पनि पर्सामा थप ४ जना संक्रमित महिलाको मृत्यु भएको हो । तीन जना महिलाको सोमबार साँझसम्म मृत्यु भइसकेको थियो। मंगलबार बिहान १ बजेर २४ मिनेटमा ४० वर्षीया र बिहान ३ बजे ६५ वर्षीया महिलाको पनि मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

यी दुई महिलासहित २४ घण्टाभित्रै पर्सामा ५ जना महिलाको मृत्यु भइसकेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताए । पछिल्लो पटक मृत्यु भएका महिलासहित पर्सामा कोरोनाका कारण निधन हुनेको संख्या १६ पुगेको छ । अस्पतालले जानकारी दिएअनुसार जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ बारा कि ४० वर्षीया र पर्साको वीरगञ्‍ज महानगरपालिका वडा नम्बर २५ सिर्सियाकी ६५ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो ।

आज बिहानपख ज्यान गुमाएका ती दुवै महिला नारायणी अस्पतालमा उपचार निम्ति भर्ना गरिएका थिए ।

नारायणी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

त्यस्तै वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार राति १ बजेर २४ मिनेटमा ४० वर्षीया र ३ बजे ६५ वर्षीया महिलाको मृत्यु भएको हो । ४० वर्षीया महिला बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ र ६५ वर्षीया महिला पर्साको वीरगन्ज महानगरपालिका-२५ सिर्सियाको रहेको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

बाराकी महिला बैशाख ९ मा अस्पताल भर्ना भएकी थिइन्। सिर्सियाकी महिला भने सोमबार मात्र भर्ना भएको डा. दासले बताए ।