काठमाडाैँसहित अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैँ । सरकारले काठमाण्डौ उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यस अघि काठमाडाैँ, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भए पनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बस्नुभन्दा अघि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ७ दिनको अवधि तोकेर बिहीवारदेखि निषेधाज्ञा गर्ने घोषणा गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयहरुले ७ दिन निषेधाज्ञा गर्ने भने पनि सरकारले त्यो अवधि बढाएर १५ दिन पुर्याएको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । यस्तै सरकारले सबै परीक्षा स्थगित गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयलाई पारित गरेको छ ।

यस्तै सरकारले अर्को निर्णय नभएसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सयभन्दा धेरै सङ्क्रमित हुने वित्तिकै निषेधाज्ञा लगाउने सीसीएमसीको निर्णयलाई पनि मन्त्रिपरिषद् बैठकले सदर गरेको छ । संघीय सरकारले परिस्थिति हेरेर जिल्लाहरुले १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जिल्लाहरुले आवश्यकता अनुसार १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको हो ।

“१५ दिन नै गर्नुपर्छ भन्ने छैन । कुनै जिल्लाले तीनदिन पनि गर्न सक्छन् । कुनैले सातदिन पनि गर्न सक्ने भए । १५ दिन अधिकतम सीमा हो । १५ दिनसम्म निषेधाज्ञा जारी गर्ने जिल्लालाई अधिकार दिइएको हो,” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले भने ।