कोभिड-१९ बाट नराम्ररी प्रभावित भारतलाई विश्वभरिबाट सहयोग

एजेन्सी । कोरोनाभाइरस महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपत्कालीन मेडिकल सहयोगको वाचा गरेका छन् । भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ । यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ । युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि सहयोग पठाउँदैछन् ।

भारतको राजधानी दिल्लीमा भरिएका अस्पतालहरूले बिरामी फर्काउँदैछन् । त्यहाँ लकडाउन लम्ब्याइएको छ । भारत सरकारले अक्सिजन उत्पादनमा बढोत्तरी गर्न देशभरि ५०० वटा कारखाना खोल्न अनुमति दिएको छ । भारतमा दैनिक करिब साढे तीन लाख थप सङ्क्रमित भेटिएको अनि २७ सय भन्दा धेरैको ज्यान गएको आइतवार जनाइएको छ ।

अमेरिका तथा यूकेको कस्तो सहयोग ?

अमेरिकामा ह्वाइटहाउसले भारतका खोप उत्पादकहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ तत्काल उपलब्ध गराउने भनेको छ । “जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत गर्‍यो, अहिले हामी भारतलाई मद्दत गर्न दृढ छौँ,” राष्ट्रपति जो बाइडनले भने । भारतीय अधिकारीहरू तथा सिरम इन्स्टिच्युट अफ इन्डियाले अमेरिकालाई उसले कच्चा पदार्थमा लगाएको निर्यात नियन्त्रण हटाइदिन भनेपछि अमेरिकाले यस्ता निर्णय गरेको हो । आफूकहाँ अधिक भएका खोप विदेश पठाउन ढिलाइ गरेकोमा पनि वाशिङ्टनको आलोचना भएको छ । अमेरिकाले भारतलाई मेडिकल तथा सुरक्षा उपकरण पनि पठाउँदैछ ।

यूकेले पठाएका सहयोग सामग्रीको पहिलो खेप मङ्गलवार त्यहाँ पुग्दैछ। थप सहयोग यसै साता पुग्ने बताइएको छ । यूकेले ४९५ अक्सिजन कन्सन्ट्रेटर उपकरण – जसले हावाबाट अक्सिजन तान्नसक्छ – तथा १२० नन इन्भेजिभ भेन्टिलेटर तथा २० म्यानुअल भेन्टिलेटर पठाउँदै छ । “यो निकै चिन्ताजनक समयमा हामी एक मित्र र साझेदारका रूपमा भारतसँगै खडा छौँ,” यूकेका प्रधानमन्धी बोरिस जोन्सनले भनेका छन् । सङ्क्रमण तेज भएका कारण जोन्सनको भारत भ्रमण रद्द गरिएको छ तथा भारतमाथि हाल यात्रा प्रतिबन्ध लगाइएको छ। यूएइ, क्यानडा, जर्मनी तथा नेदर्ल्यान्ड्सले पनि भारतबाट आउने उडानमा प्रतिबन्ध लगाएका छन् ।

स्रोत- बि.बि.सी नेपाली