काठमाडौंमा निषेधाज्ञाको तयारी, मास्क नलगाइ हिँड्ने १६ सय जनालाई सडकमै उभ्याइयो

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गर्ने विषयमा प्रमुख जिल्ला अधिकारीहरुसहितको बैठक बसिरहेको छ । आजको बैठकले काठमाडौंका केही क्षेत्र खुकुलो राखेर निषेधाज्ञा जारी गर्नेबारेमा छलफल भइरहेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार आजको बैठकले यससम्बन्धी निर्णय गर्नेछ ।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले १५ गतेदेखि काठमाडौंमा निषेधाज्ञा जारी गर्न भनेको थियो । सोही निर्देशनअनुसार काठमाडौंमा निषेधाज्ञाको तयारी गरिएको हो । कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय पुगेका जिल्लामा निषेधाज्ञा गर्न सीसीएमसीले निर्णय गरेको थियो ।

मास्क नलगाइ हिँड्ने १६ सय जनालाई सडकमै उभ्याइयो

काठमाडौं । काठमाडौंमा मास्क नलगाइ हिँड्नेलाई प्रहरीले सडकमै उभ्याएर राख्न थालेको छ । सोमबार बिहानमात्रै काठमाडौंका विभिन्न स्थानमा गरेर १६ सयजनालाई सडकमै ‘होल्ड’ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार यसअघि मास्क अनिवार्य लगाउन प्रहरीले पटक पटक आग्रह गर्दै आएको थियो । कोरोना संक्रमण बढेपछि यस्तो गर्नुपरेको उनको भनाइ थियो । ‘होल्ड’ गरेर राखिएकालाई केहीबेरपछि छाडिएको थियो ।

प्रहरीले सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा मास्क नलगाइ हिँड्नेलाई सडकछेउमै उभ्याएर राख्न थालेको हो । कोरोना संक्रमण बढेसँगै मास्क अनिवार्य गरे पनि कैयौँ स्थानमा अझै मास्कबिना हिँडिरहेको पाइएपछि सडक छेउमै उभ्याएर राख्न लागिएको हो । कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने विषयमा आजै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।