गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज, मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पेश हुने

पोखरा । गण्डकी प्रदेशको विशेष अधिवेशन आज दिउँसो २ बजे बस्दै छ । विपक्षी दलको मागअनुसार आह्वान भएको प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री पृत्थ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको हो । गण्डकी प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको हिजो बसेको बैठकले अविश्वास प्रस्ताव टेबुल गर्ने लगायतका कार्यसूची तय गरेको हो । बैठकमा सांसदहरु उठाएको प्रश्नको जवाफ मुख्यमन्त्री गुरुङले दिने कार्यक्रम छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सूचना पाएपछि मुख्यमन्त्री गुरुङले यही वैशाख २ गते राति प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गर्नुभएको थियो ।

विशेष अधिवेशनको पहिलो दिन सोमबारको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् । सामान्यतः अधिवेशनको सुरु दिन दलका नेताहरूले बोल्ने गरेपनि यो अधिवेशनमा भने त्यस्तो हुने छैन । प्रस्तावकले बोलेपछि सांसदहरूले अविश्वास प्रस्तावमाथि बोल्नेछन् । पहिलो दिनको बैठकमा कति सांसदले बोल्ने भन्‍ने टुंगो लागेको छैन् । सोमबार र मंगलबार सांसदहरूले अविश्वास प्रस्तावमाथि छलफल गर्नेछन् । सांसदहरूले बोलेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिने र मतदानको प्रक्रिया अगाडि बढाइने कार्यव्यवस्था परामर्श समितिका सदस्य सांसद कुमार खड्काले जानकारी दिए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेर विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले ६ गते आह्वान गरेअनुसार १३ वैशाख सोमबार विशेष अधिवेशन बस्‍न लागेको हो ।

गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेमा २७ र १ स्वतन्त्र गरी मुख्यमन्त्रीको पक्षमा २८ सांसद छन् । विपक्षी मोर्चामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदसहित ३२ सांसद छन् ।

नदीपुरस्थित साँघुरो प्रदेश सभाभित्र संसद बैठक भौतिक दूरीबिना नै बस्दैछ । यही भवनमा प्रदेश सभाका छैटौं अधिवेशनमा सामाजिक दूरी कायम गर्न नसक्ने भन्दै सभागृहमा संसद बैठक राखिएको थियो । तर अहिले भने सामाजिक दूरीको ख्याल नगरी नदीपुरमै बस्‍न लागेको हो । ‘अब दूरीसूरी छैन, खोप लगाइसकेका छौँ, नदीपुरमै बैठक बस्छ,’ प्रदेश सभा सचिव हरिराजले जानकारी गरएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशमा निर्देशक विनोदविन्दु शर्मा भने खोप लगाउने ९६ प्रतिशतमा कोरोना नलाग्‍ने र भौतिक दूरी कायम गरेर बैठक बस्‍नु उचित हुने बताउँछन् । ‘दोस्रो चरणको खोप लगाउने ९६ प्रतिशतमा देखिँदैन भन्‍ने रिपोर्ट छ,’ उनले भने, ‘पहिला एकपटक दूरी कायम गर्न सभागृहमा गरेको थाहा थियो, अहिले कसरी बस्नुहुन्छ मलाई थाहा छैन ।’ खोपको २ डोज नै लगाएकालाई पनि कोरोना संक्रमण भएको उदाहरण पोखरामै फेला परेको छ ।