भारतमा एकैदिन ३ लाख ३२ हजारमा कोरोना संक्रमण, दैनिक ५६०० जनाको ज्यान जान सक्ने
काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ३२ हजार ७३० जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा दुई हजार २६३ कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८६ हजार ९२० पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ६२ लाख ६३ हजार ६९५ पुगेको तथ्यांक छ ।
विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।
त्यस्तै मे महिनाको बिचमा भारतमा कोरोना संक्रमण उच्च रहने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन । अमेरिकी एक विश्वविद्यालयले गरेको अध्ययन अनुसार भारतमा दैनिक झण्डै ५६०० जना संक्रमितको ज्यान जाने देखिएको छ ।
वाशिंटन विश्वविद्यालयले गरेको अध्ययन अनुसार दैनिक कोरोना संक्रमण तीन लाख नाघ्नेछ । अप्रिलदेखि अगस्ट महिनासम्म मृत्यु हुनेको संख्या ३ लाख २९ हजारदेखि ६ लाख ६५ हजारसम्म पुग्ने अध्ययनले दाबी गरेको छ । १५ अप्रिलमा सार्वजनिक गरिएको उक्त अध्ययनमा आउने केही साता स्थिति थप भयावह हुनेछ ।