बादललाई ईश्वर पोखरेलपछिको वरीयता, उपनिर्वाचनमा बादललाई नै उठाउने
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहलाई बाहिर राखेर स्थायी कमिटी गठन गरेका छन् । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटी गठन गरेको हो ।
स्थायी कमिटीमा रामबहादुर थापा ‘बादल’लाई महासचिव ईश्वर पोखरेलपछिको वरीयतामा राखिएको छ । स्थायी कमिटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, किरण गुरुङ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल सदस्य रहेका छन् ।
त्यस्तै नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त पदमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाउने बताएका छन् । शुक्रबार बालुवाटारमा भएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले बादललाई उठाउने बताएको एक सांसदले जानकारी दिए । उनका अनुसार बादलले निर्वाचन जित्ने धारणा समेत राखेका थिए ।
जेठ ६ गते राष्ट्रियसभाको रिक्त पदमा उपनिर्वाचन हुँदै छ । बादललाई माओवादी केन्द्र कारबाही गरेपछि उक्त पद रिक्त भएको हो ।