एमालेले सोध्‍यो माधव नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण, यस्तो छ पत्र

काठमाडौँ : नेकपा एमालेले ३२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ । प्रतिनिधि सभाका २७ र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्‍पष्‍टीकरण सोधेको हो । पत्रमा एमालेको नाम र चिन्ह दुरुपयोग गरेको भन्‍दै भन्दै कारबाही किन नगर्ने भनेर प्रश्‍न गरिएको छ ।

एमाले पार्टीकाे नाम र सुर्य निर्वाचन चिन्ह दुरुपयोग गरी राजनैतिक विचारधारा, दर्शन र कार्यक्रमभन्दा भिन्‍न गतिविधि संचालन गरेको दाबी पत्रमा छ । ‘एमालेको केन्द्रीय कमिटीको दशौं, एघारौं र बाह्रौ बैठकहरूको निर्देशनको अवज्ञा गरी, बैठकका निर्णयबारेमा विभिन्‍न भ्रम सृजना गरी पार्टीको विधान र निर्देशनविपरीत नयाँ राजनैतिक दलको स्वरुपमा भेलाहरू आयोजना गर्न अग्रसरता लिई पार्टी र पार्टीको एकता विरोधी प्रस्तावमा संलग्‍न हुनुको कारण के हो ?,’ पत्रमा सोधिएको छ । पार्टीको हितविपरीत वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टीको विधान निर्णयविपरीत गुटबन्दी तथा षडयन्त्र गरेकोआरोप लगाइएको छ ।

पत्र पार्टी नेतृत्वको सरकारविरुद्धमा विभिन्न अवाञ्छित क्रियाकलाप निरन्तर गरिरहेको घोषित रूपमा नया राजनैतिक दलको स्वरुपमा गतिविधि गरी पार्टीको निर्णय, यस्तै गतिविधिहरू कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नु पर्ने अवस्था आउन सक्नेतर्फ समेत सचेत गराइएको छ । पार्टी बिरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन स्पष्टीकरण पत्र लेखिएको उल्लेख छ ।