मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, माओवादीका दुई मन्त्रीको राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ । नेकपा माओवादी केन्द्रको नेतृत्वमा ४२ जना सांसदको हस्ताक्षर सहित अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो।प्रस्तावमा नेपाली कांग्रेस, जसपाको समर्थन छ। नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको नाम अघि सारिएको छ ।

प्रदेशसभाका ८७ जना सांसद छन्। जहाँ २ जना सदस्य माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४२ प्रदेशसभा सदस्य चाहिन्छ । एमालेका ४१ प्रदेशसभा सदस्य छन्। कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सदस्य छन् । सर्वोच्च अदालतको फागुन २३ को फैसलाले एमाले र माओवादी अलग भएसँगै प्रदेशहरुमा अविश्वासको प्रस्ताव आउने क्रम बढेको छ। यसअघि गण्डकीमा पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रस्ताव आइसकेको छ। यहाँ कांग्रेसको नेतृत्वमा विशेष अधिवेशन माग गरिएको छ।

यस लगत्तै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै नेकपा माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा दिएका छन् । माओवादीको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री बनेका कुलबहादुर केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले मुख्यमन्त्री पोखरेलसमक्ष राजीनामा दिएको मुख्यमन्त्रीको कार्यालय स्रोतले जनाएको छ ।

केसीलाई नयाँ मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको छ । प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पोखरेल त्यसको सामना गर्नेबारे छलफलमा जुटेका छन् ।