काँग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको भोलि आइतबारका लागि निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । बैठकका एजेन्डाका विषयमा सहमति हुन नसकेपछि बैठक बस्दै नबसी स्थगित भएकाे हाे । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पाैडेलका अनुसार आइतबार दिउँसो २ बजेका लागि तय गरिएको बैठक साेमबार अपरान्ह ४ बजेका लागि बाेलाइएकाे छ ।
केन्द्रीय समिति बैठक स्थगित भएपछि शीर्षस्थ नेताहरूबीच अनौपचारिक बैठक भने भइरहेकाे छ । पार्टीको १४ औँ महाधिवेशकाे तयारी र सत्ता समीकरणका विषयमा पार्टीभित्र एकमत कायम हुन नसकेपछि बैठक बस्न नसकेको बुझिएकाे छ ।
अर्को कारण भने कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामबाबु प्रसाईको यही असोज २३ गते भएको निधनको कारणले बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रसाईंको काठमाडौंस्थित ॐ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनमा कांग्रेसले असोज २४, २५ र २६ गते पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने बताएको छ ।
त्यस्तै असोज २५ गते केन्द्र र मातहतका सबै कार्यालय बन्द गर्ने तथा १३औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने मुख्य सचिव पौडेलले जानकारी दिए । बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशन तयारी सन्दर्भमा छलफल हुने कार्यसूची तय भएको थियो ।