छलफल गर्न मुख्यमन्त्री गुरुङ काठमाडौं आउँदै, अधिबेशन बोलाउन विपक्षी दलको निवेदन
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रतिपक्षी दलबाट मोर्चाबन्दी सहित अविश्वासको प्रस्ताव दर्ता भएपछि छलफलको लागि संघीय राजधानी काठमाडौं आउने भएका छन् । प्रदेशमा देखिएको राजनीतिक घटनाक्रमको बिषयमा छलफल गर्नका लागि उनी शुक्रबार काठमाडौं आउन लागेका सचिवालयले जनाएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) को २८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । निर्णायक मानिएको राष्टिय जनमोर्चाले समेत अविश्वास प्रस्तावमा सहमति जनाउने बताइसकेको छ ।
उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निकटका हुन्। आफ्नो कुर्सी धरापमा परेपछि केन्द्रमा नेताहरूसँगको परामर्शका लागि काठमाडौं आउन लागेका हुन् । अविश्वासको प्रस्ताव आउने भएपछि उनले संसद् अधिवेशन अन्त्य गरेको थिए । तर, प्रतिपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गरेर प्रदेश प्रमुखसँग विशेष अधिवेशनको माग गरेका छन् । अविश्वासको प्रस्तावमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।
मुख्यमन्त्री गुरुङलाई बहुमतको सरकार निर्माण गर्न ३ सांसद् अपुग छन् । प्रदेशमा ६० सांसद छन्। सरकार निर्माण गर्न ३१ सांसद आवश्यक पर्छ । एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्टिय जनमोर्चा ३ र राप्रपा २ सांसद छन् । मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउन जनमोर्चाको साथ भए पुग्छ ।
गण्डकीमा विशेष अधिवेशन बोलाउन विपक्षी दलले निवेदन बुझायो
गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका छन् । विशेष अधिवेशन बोलाउन भन्दै प्रदेश प्रमुख कार्यालयका सचिव हरि बास्तोलालाई भेटेर कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले निवेदन बुझाएका हुन् । आज दिउँसो गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।