आहा रारा गोल्डकपको नयाँ च्याम्पियन संकटा क्लव, टिकट बिक्रीबाट २१ लाख आम्दनी

पोखरा । संकटा क्लवले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । फाइनलमा अफ्रिकन रुट्सलाई टाइब्रेकरमा पराजित गर्दै नयाँ च्याम्पियन बन्यो । पोखरा रंगशालामा भएको फाइनलको टुंगो टाइब्रेकरमा पुगेको थियो । निर्धारीत ९० मिनेट र थप गरिएको ३० मिनेटमा दुबै टिमबाट एक एक गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । त्यसो त निर्धारीत ९० मिनेटमा संकटाले अफ्रिकन रुट्सको एक गोलको अग्रतालाई उल्ट्याएको थियो ।

खेलको ११ औं मिनेटमा अफ्रिकन रुट्ले खेलमा अग्रता बनायो । उसका लागि बासेकले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलले अगाडी रहेको अफ्रिकन रुट्सविरुद्ध संकटाले खेलको ५१ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका लागि ग्लोरीले उत्कृष्ट गोल गर्दै टिमलाई एक एकको अवस्थामा पुर्याए । त्यसपछि दुबै टिमले गोल थप्नका लागि निकै प्रयास गरेका थिए । ६७ औं मिनेटमा संकटाका फोफानाको प्रहारलाई अफ्रिकन रुट्सका गोलकिपरले बचाए ।

८५ औं मिनेटमा अफ्रिकन रुट्सका बासेकले डिबक्समा पाएको उत्कृष्ट मौका खेर फाले । उनले गरेको प्रहार पोष्टको नजिकैबाट बाहिर गयो । निर्धारीत ९० मिनेट एक एक गोलको बराबरीमा सकिएको खेलको एक सय दुई मिनेटमा अफ्रिकन रुट्स मौसाले पाएको उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन । त्यसको अर्को मिनेटमा फेरी पनि मौसाको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले बचाए । एक सय चार मिनेटमा संकटाका आशिष राईले डिबक्समा खालि स्थानमा पाएको मौकालाई बाहिर हाने ।

खेलको एक सय १० औं मिनेटमा संकटाका संकटाका ग्लोरीले राम्रो अवसरलाई खेर फाले । उनले डिबक्समा हेडरको प्रयास राम्रोसँग कनेक्ट हुन सकेन । थपिएको ३० मिनेटमा पनि दुबै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा संकटाका लागि अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत र आयुष घलानले गोल गरे । सरोज दाहालको प्रहारलाई अफ्रिकन रुट्सका गोलकिपरले बचाए । अफ्रिकन रुट्सका केचा यानीक, रफायल रिमले गोल गरे भने क्वेटे फ्रांकलिनको प्रहार बाहिरीदा एम्बाकोबको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले बचाए ।

उपाधिसँगै संकटाले १० लाख एक हजार रुपैयाँ जितेको छ भने उपविजेता अफ्रिकन रुट्सले पाँच लाख एक हजार पाएको छ ।

आहा रारा गोल्डकपमा टिकट बिक्रिबाट करिव २१ लाख रूपैयाँ आम्दानी

पोखरा । शनिबार सम्पन्न भएको आहा रारा गोल्डकपको टिकट बिक्रिबाट आयोजकले करिव २१ लाख रुपैयाँ आम्दानी गरेका छन । नेपालमा पछिल्लो पटक कोरोनाको संक्रमण बढिरहेका बेलापनि आहा रारा गोल्डकपमा दर्शकको उपस्थिती राम्रो नै रहेको थियो । करिव एक साता चलेको प्रतियोगितामा आयोजकले २१ लाख १७ हजार दुई सय ७० रुपैयाँ आम्दानी गरेको बताएका छन । अघिल्लो संस्करणको भन्दा यो पटक टिकट विक्रिबाट भएको आम्दानी कम भएपनि आयोजक यतिमा खुसी देखिएका छन । अघिल्लो संस्करणमा आहा राराका आयोजकले टिकट विक्रिबाट करिव २८ लाख रुपैयाँ कमाएका थिए ।

यो संस्करणको प्रतियोगितामा फाइनलमा मात्र ११ लाख ७७ हजार रुपैयाँ टिकट बिक्रिबाट कमाएका हुन । यस्तै उद्घाटन खेलको दिन एक लाख ४६ हजार दुई सय ५०, दोस्रो दिन एक लाख १७ हजार, तेस्रो दिनको खेलमा एक लाख ३२ हजार ६ सय, चौथो दिनको खेलमा एक लाख ६७ हजार, पहिलो सेमिफाइनलमा एक लाख नौ हजार, दोस्रो सेमिफाइनलमा दुई लाख ६७ हजार सात सय टिकट विक्रिबाट आयोजकले आम्दानी गरेको बताएका छन ।

यो पटक आहा रारामा आठ टिमको सहभागिता रहेका थियो । जसमा उपाधिका प्रबल दावेदार टिम थ्री स्टार, मनाङ मस्र्याङ्दी पहिलो खेलबाट नै बाहिरीदा टिकट विक्रिमा केहि कमि भएको क्लवको ठम्याई छ ।