कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौंँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन् । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्दै छ । ‘१४ औं महाधिवेशनलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो,’ ।

बैठकमा पदाधिकारी तथा पूर्व पदाधिकारीलाई बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । साथै भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे पनि आजको पदाधिकारी बैठकमा छलफल गर्ने तयारी गरिएको छ । समसामयिक राजनीति, नयाँ सरकार गठन, विपक्षी दलहरुबीच जारी परामर्शबारे पनि बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारीलाई जानकारी गराउने छन् ।

दुई दिनअघि माओवादी केन्द्र र जसपासँग सत्ता समीकरणका लागि कांग्रेसले छलफल गरेको थियो । गत शुक्रबार सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने र समर्थन गर्न आग्रह गरेका थिए । जसपाले पार्टीमा छलफल गर्न भन्दै समय मागेको छ । सोमबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक राखिएको हो। कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका बनाएको छ । अहिलेसम्म ७१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम भइरहेका छन् । बाँकी जिल्लामा पनि क्रियाशीलको काम सुरू गर्ने तयारीमा कांग्रेस छ ।