पोखरा आसपासका ६० हजार किलो फोहोर संकलन गर्ने ‘हिल हिमालयज’
पोखरा । लकडाउन खुले पनि होटल र रेष्टुरेण्ट पूर्ण रुपमा खुलेको थिएन । ग्राहकले रेष्टुरेण्टबाट खानेकुरा किनेर लैजान पाउँथे, रेष्टुरेण्टमै बसेर खान पाउँथेनन् । पोखरा र अन्यत्रबाट आएका मानिस पोखरा वरिपरिका डाँडा र खुला ठाउँमा बसेर खाना-खाजा खाए। धेरैले खाना बोकेका प्लाष्टिकलगायत फोहोर जहाँ खायो, त्यहीँ छाडे । काहुँडाडामा यसरी नै फोहोर बढेको देखेपछि स्थानीय युवा कस्सिए। अब डाँडामा भएका फोहोर टिप्नुपर्छ। उनीहरूले गत साउनदेखि हरेक हप्ता शनिबार पोखराको फोहोर टिप्ने अभियान थाले ।
सुरूमा यसरी अभियान चलाउने युवाको संख्या जम्मा ६ जना थिए । पोखराको बाँझापाटन निवासी रोशन गुरुङ र उनका साथीहरुले सुरू गरेको यो अभियानमा अहिले ५० जना भन्दा बढी युवा जोडिएका छन् । काहुँडाडाबाट सुरू भएको फोहोर टिप्ने अभियानले शनिबार ४० औं श्रृङ्खला पार गरेको छ । शनिबार पोखराको भलाममा फालिएको फोहोर टिपेको अभियानका संस्थापक रोशन गुरुङले बताए । भलामखोलाको भीरमा फालिएको फोहोर सिधै कालीखोलामा मिसिन्छ । भीरमा फालिएको फोहोर टिप्न कतिपय युवा डोरीमा झुण्डिएर फोहोर टिप्न पुगेका थिए ।
फोहोर टिप्न थालेका युवाहरुको यो समूह अहिले संस्थागत रुपमा लागेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा ‘हिल हिमालयज’ नामक संस्था दर्ता गरेर आफ्नो समूहलाई संस्थागत रुप दिएका हुन् । हिल हिमालयजले आफ्नो उदेश्यमै वातावरणीय स्वच्छताका लागि काम गर्ने राखेका छन् । फोहोर टिप्ने अभियान चलाएका उनीहरुले फेवाताल आसपासमा मात्रै पाँच पटक अभियान चलाएका छन् । यस्तै, पोखराको कास्कीकोट, सराङकोट, शान्ति स्तुपा लगायतका क्षेत्रमा पनि उनीहरूले फोहोर संकलन गरेका छन् । हालसम्म ६० हजार किलो फोहोर संकलन गरेको संस्थाका अध्यक्ष गुरुङले बताए । संकलित फोहोर पोखरा महानगरको फोहोर बोक्ने गाडीमा राखेर ल्याण्डफिलसाइटमा लैजाने व्यवस्था मिलाएको गुरुङले बताए। उनका अनुसार शनिबार मात्रै करिब एक हजार पाँच सय किलो फोहोर संकलन भएको छ ।
‘हाम्रा लागि शनिबार सरसफाइमा लाग्ने दिन जस्तो भएको छ,’ अध्यक्ष गुरुङले भने, ‘साथीहरूको साथ र सहयोग बढेकाले यो अभियान छाड्न सकेनौं ।’ फोहोर टिप्ने अभियान थालेपछि पोखराकै कतिपय व्यवसायी र सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिले उनीहरूलाई सहयोग गरेका छन् ।हालसम्म ३० जनाले आर्थिक सहयोग गरेको उनीहरूले बताए। फोहोरमैला संकलनमा लागेका युवालाई खाजा खुवाउन उक्त सहयोग प्रयोग गरेको अध्यक्ष गुरुङले जानकारी दिए । अभियानका क्रममा अहिलेसम्म अन्य सरकारी वा गैरसरकारी सहयोग भने नलिएको उनले बताए ।