राजदुताबसमा पस्न नदिएपछी कारमै सुते म्यान्मारका राजदूत
लन्डनमा म्यान्मारका राजदूतलाई आफ्नै कार्यालय पस्न रोक
बेलायतको लागि म्यान्मारका राजदूतलाई राजदूतावासमा प्रवेश गर्न उनीभन्दा मुनिका कर्मचारीले रोकेका छन् । ती डेपुटीले सेनाका तर्फबाट राजदूतको कार्यभार सम्हाल्न थालेको बताइएको छ । फेब्रुअरी महिनामा सेनाले कू गरेदेखि लोकतन्त्र समर्थकहरूमाथि कठोर दमन गर्न थालेको छ । बेलायतमा खटिएका राजदूत क्याव ज्वार मिनले हालैका सातामा सत्तारूढ जुन्ताको अवज्ञा गर्दै आङ सान सू चीलाई हिरासतमुक्त गर्न आग्रह गरेका छन् ।
‘मलाई राजदूतावास पस्न दिइएको छैन,’ उनले रोयटर्स समाचार संस्थालाई बताए । ‘यो एक किसिमको कू हो त्यो पनि लन्डनको मध्यभागमा । तिनीहरूले मेरो भवन कब्जा गरेको देख्न सक्नुहुन्छ,’ उनले भने । बेलायतको परराष्ट्र मन्त्रालयसँग यस विषयमा कुरा गरिरहेको पनि उनले बताए । डेपुटी एम्बास्डर चित विनले राजदूतको जिम्मेवारी लिएको र उनी तथा मिलिटरी अटाशेले राजदूतलाई भवनबाहिर रोकेको बताइएको छ । क्याव ज्वार मिनले राजदूतावास नजिक भेला भएका प्रदर्शनकारीलाई सम्बोधन गरेका थिए । यो ‘मेरो भवन हो, म भित्र जानुपर्छ । त्यसैले म यहाँ कुरिरहेको छु,’ उनले भने ।
लण्डनमा सैनिकले लखेटेपछि कारमै सुते म्यान्मारका राजदूत
बेलायतका लागि म्यान्मारका राजदूत क्या ज्वार मिनलाई दूतावासमा खटिएका म्यानमारकै सेनाले हटाएका छन् । सैनिक प्रतिनिधिहरुले लण्डनस्थित दूतावास भवनबाहिर निस्कन भनेपछि उनीसहितका कर्मचारीहरु बुधबार बाहिर निस्किएका हुन् । बुधबार राति दूतावासबाट निस्कनुपरेपछि आफू कारमै सुतेको जानकारी उनले दिएका छन् । राजदूत मिनका प्रवक्ताले सैन्य शासकले नियुक्त गरेका नयाँ राजदूतलाई बेलायतले मान्यता दिन नहुने र उनलाई म्यान्मार फर्काउनुपर्ने तर्क गरेका छन् । ‘फेब्रुअरीमा म्यान्मारमा कु भएको थियो । अहिले लण्डनमा पनि यस्तै भएको छ,’ उनले भने । सैनिक शासकका पक्षमा काम नगरे दूतावासका कर्मचारीहरुलाई कारबाही गरिने धम्की दिइएको प्रवक्ताले बताए ।
सैनिक अधिकारीहरुले मिनलाई देशको प्रतिनिधि कायम नरहेको जानकारी बुधबार दिएका थिए । बेलायतका विदेशमन्त्री डोमिनिक रावले यस्तो हर्कतको निन्दा गरेका छन् । १ फेब्रुअरीमा आङ सान सुकी नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता कब्जा गरेको थियो । त्यसयता, विभिन्न निकायमा सेनाले हस्तक्षेप गर्दै आएको छ । सेनाको यो कदमविरुद्ध हप्तौंदेखि म्यान्मारमा विरोध प्रदर्शन चलिरहेको छ । प्रजातान्त्रिक सरकार पुनस्र्थापना हुनुपर्ने मागसहितको यस प्रदर्शनमा अहिलेसम्म दर्जनौं नाबालिगसहित ५ सयभन्दा धेरै मानिस मारिइसकेका छन् ।
राजदूत क्या ज्वार मिनले पनि सैन्य कुको विरोध गर्दै आइरहेका छन् । उनले हिरासतमा राखिएकी नेतृ सुकीलाई रिहाई गर्नुपर्ने माग गरेका थिए ।