मान प्रसाद गुरुङ्ग अध्यक्ष रहेको पोखरेली मंच यूकेको कार्यसमितिको कार्यकाल एक बर्ष थप

लन्डन । बेलायतमा पोखरेलीहरुको साझा संस्था— पोखरेली मंच यूकेको हिजो बसेको बैठकले मान प्रसाद गुरुङ्ग अध्यक्ष रहेको हालको कार्यसमितिको कार्यकाल पुनः एक बर्ष थप्ने निर्णय गरेको छ । कोभिड महामारीको परिस्थितीलाई मध्य नजर राख्दै र मान प्रसाद गुरुङ्गले संस्थालाई राम्रो नेतृत्व गरिरहनुभएको हुँदा उपस्थित सदस्यहरुले उहाँ अध्यक्ष रहेको बर्तमान कार्यसमितिको कार्यावधि एक बर्ष पुन थप्नेमा सबैले सहमति जनाए ।

बैठकको सुरुवातमा संस्थाको सचिब पबित्र गुरुङ्गले उपस्थित सबैलाई स्वागत गर्नुहुँदै बैठकको उद्धेश्यबारे छोटकरीमा जानकारी गराउनुभएको थियो । त्यस लगत्तै कोभिडको कारण मृत्यु हुनुभएका पोखरेली र देशबिदेशमा मृत्युबरण गर्नुभएको मृतकहरुको सम्झना र शोकमा एक मिनेट मौन धारण गरियो । त्यसपछी मंचको अध्यक्ष मान प्रसाद गुरुङ्गले बैठकको प्रमुख उद्धेश्यहरुबारे पुन प्रकाश पार्नुहुँदै पोखरेली मंच युकेको गठन वा स्थापनाबारे सबैलाई जानकारी गराउनुभयो । साथै उहाँले आफ्नो कार्यकालमा सम्पन्न गरेका कार्यहरु र उपलब्धिहरु सम्बन्धमा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले १३औ, १४औ र १५औ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि पोखरेली मंच यूकेको पहलमा बेलायतबाट रु.२३,३३,०००/- (अक्षरुपी तेईस लाख तेत्तिस हजार रुपिया) संकलन गरि पठाएको कुरा जानकारी गराउनुभयो । प्रसिद्ध पोखरेली साहित्यकार सरु भक्त श्रेष्ठको उपस्थितिमा “सृजनाको घेरा भित्र” भन्ने साहितिक कार्यक्रम आयोजना गरेर रु.२,५०,०००/- (अक्षरुपी दुई लाख पचास हजार रुपिया) पोखरेली युवा सास्कृतिक परिवारको मताहतमा रहेकोे “वरिष्ठ संगीतकार अम्बर गुरुङ्ग स्मृति कोष” लाई कार्यक्रम संयोजक श्री लाल प्रसाद गुरुङ्ग र सह संयोजक श्रीमती सुधा गुरुङ्गले हस्तान्तरण गरेको कुरा पनि जाकारी गराउनुभयो ।

त्यस्तै उहाँकै कार्यकालमा पोखरेली मंच यूकेलाई बेलायतको च्यारिटी कमिसनमा दर्ता गर्न सफल भएको कुरा पनि अवगत गराउनुभयो । त्यस्तै पोखरेली मंच यूकेकै पहलमा बेलायतमा “हाईक फर नेपाल” कार्यक्रम तीन पटकसम्म सफल पुर्बक आयोजना गरेको कुरा सुनाउनुभयो । यतिमात्र नभएर पोखरेली मंच यूकेले “नेपाल कप टी २० क्रिकेट” लगातर चौथो वर्ष सम्म आयोजना गर्न सफल भएको र यस बर्ष पनि यदि परिस्थिति अनुकुल भएमा नेपाल कप टी २० क्रिकेट पाँचौ पटक आयोजना गरिने कुरा बताउनुभयो । साथै भविष्यमा पोखरा म्याराथन र धरान रनलाई एक हप्ताको फरकमा आयोजना गर्न धरान रन सँग वार्ता गर्न सफल भएको कुरा अवगत गराउनुभयो । त्यस्तैगरी तमु फोरम यूकेको निर्देशक क्याप्टेन रिटायर्ड राजु गुरुङ्ग र मेजर रोज गुरुङ्गको पहलमा तथा पोखरेली मंच यूकेको संयोजकतामा पोखरा महानगर पालिकाको मेयर मानबहादुर जिसीको एक हप्ता बेलायत भ्रमण सफल गराउन सफल भएको कुरा पनि बताउनुभयो । पोखरेली मंच यूकेले नेपाल राष्ट्रिय अविस्कार केन्द्रको प्रमुख महाबीर पुनसंग अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको कुरा बताउनुभयो ।

कार्यक्रममा पोखरेली मंच यूकेले आयोजना गर्ने हाइक फर नेपाल कार्यक्रमको संयोजक तमु प्ये ल्हुँ संघ यूकेको निबर्तमान अध्यक्ष मेजर रिटायर्ड खुशीमान गुरुङ्ग र यसै कार्यक्रमको आर्थिक संयोजक श्रीमती जसु गुरुङ्गले सम्पन्न हाइक फर नेपाल कार्यक्रमहरुको समिक्षा तथा आगमी कार्यक्रम गर्दा अपनाउन सक्ने र पर्ने रणनितीहरुबारे अ—आफ्नो धारणा प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रकाश गुरुङ्गले पाँचौ नेपाल कप टी २० आयोजना गर्ने नगर्ने भन्ने सम्बन्धमा कोभिडको परिस्थिति र बेलायत सरकारले जारी गर्ने निती नियममा भर पर्ने भएकोले अहिले नै निक्र्यौल गर्न नसकिने कुरा बताउनुभयो । त्यस्तै मंचको विधान संशोधन सम्बन्धमा लेखक तथा गीतकार एकेन्द्र गुरुङ्गले खासै संशोधन गर्नुपर्ने केही पनि नरहेको तर प्रचलित चलन अनुसार केही कुराहरु थपघट गर्नुपरेमा सबैको सल्लाह अनि सहमतिमा संशोधन गर्न सकिने कुरा बताउनुभयो ।

कार्यक्रममा लन्डन बरो अफ बार्नेटको उप—मेयर लक्ष्य गुरुङ्ग, तमु धिं यूकेको अध्यक्ष हितकाजी गुरुङ्ग, तमु समाज यूकेको अध्यक्ष शिब चन्द्र गुरुङ्गले पोखरेली मंच यूकेको कार्यहरुको प्रशंसा गर्नुहुँदै संस्था अझ उचाइमा पुगोस भन्ने शुभकामाना दिनुभएको थियो । त्यस्तै मंचको सल्लाहकार अमरसिङ स्कुल पोखराको भुपु प्रधानाध्यपक महेश गुरुङ्गले पोखरेली मंच यूके केही शिथिल भएकोले कार्यसमिति लगायत सबै पोखरेली मिलेर संस्थाको महत्व र गरिमालाई अघि बढाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी प्राय सदस्यहरुले पोखरेली मंच यूकेलाई अझ विस्तार गरेर सम्पूर्ण पोखरेलीहरुको माझ पुर्याउनुपर्ने र संस्थालाई पोखराकै साझा संस्था बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा यस मंचको संस्थापक अध्यक्ष चन्द्र ब. पुन, बर्तमान उपाध्यक्ष अम्बिका खडका, अर्को उपाध्यक्ष पत्रकार बाक्षस्पति रेग्मी, साहारा यूकेको अध्यक्ष कुमार गुरुङ्ग, पोखरा रामबजार हङ्गकङ्ग मंचको भुपु सचिब प्रेम बिक, बुद्धिजिबीहरु- रमेश बास्तोला, सेरा गुरुङ्ग, राम गुरुङ्ग, मे (रि)रुद्र बहादुर खडका, लेप्टेन कुसाङ्ग गुरुङ्ग, हरि श्रेष्ठ, सोलिसिटर बाल कृष्ण गुरुङ्ग आदिले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा एनआरएनए यूकेको निबर्तमान अध्यक्ष योगकुमार फगामी, हङ्गकङ्ग मंच यूकेको निबर्तमान अध्यक्ष भिममहेन्द्र गुरुङ्ग उपस्थित हुनुहुन्थ्यो ।

अन्त्यमा अध्यक्ष मान प्रसाद गुरुङ्गले पोखरेली मंच यूकेलाई प्रत्यक्ष र परोक्ष साथ र सयहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यबाद दिनुभयो । साथै बैठकमा सहभागी सम्पूर्ण सदस्यहरुलाई उहाँहरुको अमुल्य समय र सुझाबहरुको लागि धन्यबाद दिंदै “हाम्रा युवा पुस्तालाई नेपाल र नेपाली भएर गर्व गर्न सकुन् र नयाँ पुस्ताको उज्ज्वल भबिस्य निर्माणका निम्ति बेलायत र पोखरालाई पुलको रूपमा जोड्ने लक्ष्य जारी रहिरहने” मुलमन्त्रका साथ पोखरेली मंच अघि बढने र यस उद्धेश्य प्राप्तिको लागि सबैको साथ, सहयोग र सहकार्यको लागि अपेक्षा अनि अनुरोध गर्नुभयो ।