पार्टी एकता जोगाउन जेठ २ मा फर्किन ओलीलाई खनालको आग्रह, बैठक नसकिदै निस्के
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक नसकिदै नेता झलनाथ खनाल बालुवाटारबाट बाहिरिएका छन् । नेता खनाल दलको बैठकमा आफ्नो धारण राखेर बाहिरिएका हुन् । खनालले बैठकमा सर्वोच्चको फैसलाले एमाले पूर्ववत् अवस्थामा फर्किएको भन्दै पार्टीलाई एकताबद्ध र एकढिक्का बनाएर लैजान २०७५ जेठ २ गतेको अवस्थामा फर्किन अध्यक्ष ओलीसँग आग्रह गरेका छन् । ‘केन्द्रीय कमिटीदेखि सवै कमिटिहरुको बैठक आयोजना गर्नुपर्छ । त्यस्तै यो बीचमा गरेका निर्णयहरु खारेज गर्नुपर्छ,’ बैठकमा खनालको भनाइ उद्धृत गर्दै नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
खनालले विधि विधानभन्दा बाहिर गएर गरिएका निर्णयहरु खारेज गर्दै जेठ २ मा फर्किनुपर्ने बताएका थिए । बैठकमा खनालले दलको नयाँ विधानप्रति समेत आपत्ति जनाएका थिए । ‘संविधानसभा दलको विधानको निरन्तरता हुन सक्दैन । नयाँ विधान बनाउनुपर्छ’, खनालले बैठकमा भनेका थिए । ‘विधान बनाउने पनि प्रक्रियाहरु छन्, त्यो अनुसार संसदीय दलको विधान बनाउनुपर्छ’ खनालको भनाई उधृत गर्दै श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले सुन्नुभयो, तर बोल्नुभएको थिएन । पछि बोल्नुहुन्छ ।’ बैठक नसकिदै श्रेष्ठ पनि बाहिरिएका थिए ।