संसदीय दलको बैठकमा सहभागी हुन खनाल बालुवाटारमा, नेपाल र रावल गएनन्

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकमा नेपाल–खनाल समूहका वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरु सहभागी भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको बैठकमा वरिष्ठ नेता खनाल लगायतका नेताहरु सहभागी भएका हुन् । यसअघि आजै एमालेको असन्तुष्ट माधव नेपाल पक्षले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेपछि खनालसहित अन्य नेता बालुवाटार पुगेका हुन् । बैठकमा माधव नेपाल र भीम रावल भने सहभागी नभएको ओली पक्षका सांसद महेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकको सुरुवात गर्दै एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतक र राष्ट्रिय सभा दलको नेता चयनबारे जानकारी गराएका छन् । त्यस्तै ओलीले संसदीय समितिहरूको संख्या र सभापतिबारे पनि पार्टीको हैसियत अनुसार हेरफेर गर्ने जनाकारी दिएका छन् । यसअघि एमाले र माओवादी मिलेर नेकपा बनेपछि संसदीय समितिहरुमा एमाले र माओवादीका नेताहरुलाई भागबण्डाका आधारमा जिम्मेवारी दिइएको थियो ।

नेकपाले मान्यता नपाएसँगै माओवादीलाई दिएका समिति सभापतिहरू हेरफेर हुनसक्ने दलका नेता ओलीले जानकारी गराएका हुन । बालुवाटार बैठकमा नेता वामदेव पनि सहभागी भएका छन् । सर्वोच्च अदालतले फागुन २३ मा एमाले र माओवादी केन्द्रबीचको एकीकरण भंग गरिदिएपछि पूर्ववत अवस्थामा पुगेको एमालेमा अध्यक्ष ओली र नेपाल पक्षबीच तीव्र विवाद भइरहेको छ ।

विवादकै कारण ओलीले नेपालसहित, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । नेपाल र रावलले बिहीबार स्पष्टीकरणको जवाफ पठाउँदै उल्टै ओलीलाई नै किन कारबाही नगर्ने भन्दै प्रतिप्रश्न गरेपछि ओली झन् रुष्ट बनेका छन् ।