भागरथी हत्या प्रकरण : बयान फेरेका दिनेशसँग भागरथीको भजाइनल स्वाबको डिएनए मिल्यो
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ बर्षीया किशोरी भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्त दिनेश भट्टको डिएनए मिलेको छ । काठमाडौंको सामाखुसीस्थित नेपाल प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त दिनेशको डिएनए भागरथीको भजनाइल स्वाबसँग मिलेको प्रहरीले जनाएको छ ।
आइतबार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलमा अभियुक्त दिनेश भट्टका बुवा दिपक भट्टले भागरथी हत्या प्रकरणमा दिनेश अपराधी नभएको बताएका थिए । छोरासँग भेट्दा छोरा दिनेशले घटनामा आफ्नो संलग्नता नरहेको र डराइ धम्क्याएर साबिती बयान दिन लगाएको उनका बुवा दीपकराज भट्टले बताएका छन् ।
भेटका क्रममा बुवा दीपकसँग दिनेशले अपराध अस्वीकार गर्दै अन्य दुई जनामाथि हत्या आरोप लगाएका छन् । अपराधीहरुले बुवा र भाइलाई मार्ने धम्की दिएर अपराध स्वीकार्न लगाएको दिनेशको आरोप रहेको बुवा दीपकले पत्रकार सम्मेलनमा भनेका थिए । भागरथीको हत्या गरेको अभियोगमा अभियुक्त दिनेश हाल पुर्पक्षका लागि बालसुधार गृहमा रहेका छन् । बिहीबार स्वाबको रिपोर्ट आएसँगै बलात्कारपछि दिनेशले नै हत्या गरेको हो भन्ने प्रमाणका विषयमा घटनाको बारेमा थप बल पुर्याएको बताइएको छ।
गत माघ २२ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भागरथीको शव स्थानीय लवलेक जंगलमा फेला परेको थियो । त्यसपछि गएको फागुन ४ गते प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको थियो ।