म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु
म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको मृत्यु भएको छ । मन्डालय सहरकी ती बालिका गत महिना कूमार्फत सत्ता हत्याएको सेनाले गरेको दमनमा ज्यान गुमाउने सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । उनलाई घरमै हुँदा गोली हानिएको परिवारले दाबी गरेका छन् । स्थानीय सञ्चारमाध्यमले सुरक्षाकर्मीले गत सोमबार उनका बुवालाई लक्षित गरेर गोली हाने पनि काख बसेकी छोरीलाई लागेको बताएका छन् ।
गोली लागेपछि उनलाई उपचार गर्न अस्पताल लगिएको थियो तर उनी बाँचिनन् । उनका १९ वर्षीय दाजुलाई सुरक्षाकर्मीले पक्राउ गरेर लगेका छन्। यसअघि फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि म्यानमारमा दिनदिनै प्रदर्शन भइरहेका छन् । सेभ द चिल्ड्रेनले अहिलेसम्म सुरक्षाकर्मीको गोली लागेर मारिएकामध्ये २० जना बालबालिका भएको बताएको छ ।
सैनिकले अहिलेसम्म १६४ जनाको ज्यान गएको बताएको छ भने एसिस्टेन्स एसोसिएसन फर पोल्टिकल प्रिजनर्सले मृत्यु हुनेको संख्या २६१ पुगेको बताएको छ । सेनाले प्रदर्शनकारीको मृत्युमा दु:ख व्यक्त गरेको छ तर उनीहरूले देशमा अराजकता ल्याएको आरोप लगाएको छ ।