एमाले र जसपाबीचको वार्ता निष्कर्षविहीन
काठमाडौँ । सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच मंगलबार बालुवाटारमा छलफल भएको छ । दुई दलबीच सत्ता सहकार्यबारे कार्यदल स्तरमा छलफल भएपनि कुनै सहमति हुन नसकेको बैठकपछि नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । टीकापुर घटनाका दोषी रेशम चौधरीलगायतको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि लागेका मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता, लाल आयोगको प्रतिवेदन कार्यान्वयन लगायतको विषयमा छलफल भएपनि कुनै सहमति नभएको कार्यदलका सदस्य समेत रहेका कर्णले बताए ।
यद्यपी छलफललाई निरन्तरता दिने सहमति भएको उनले बताए । वार्ताका लागि गठन भएको कार्यदलमा सरकारको तर्फबाट सुवास नेम्वाङ, डा.राजन भट्टराई र विष्णु पौडेल रहेका छन् भने जसपा नेपालको तर्फबाट कर्णसहित सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएपछि सत्ता जोगाउनका लागि उनले जसपा नेपाललाई मनाउने प्रयास गर्दै आएका छन् । जसपा नेपालले आफूहरुको माग पुरा भएपछि मात्र सरकारमा जाने अडान लिएका छन् । सोही अडानको विषयमा सरकार र जसपा नेपालबीच पटक पटक छलफल हुँदै आएको छ ।