सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले साविक नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ । कानुन व्यवसायीहरुको सुझाव अनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको हो । मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले जानकारी दिए । गुरुङका अनुसार आज सिंहदरबारमा स्थायी कमिटीका सदस्यहरूले कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए ।
छलफलमा कानुन व्यवसायीहरू शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी र मुक्ति प्रधानलगायत सहभागी थिए । उनीहरूले ६० दिनभित्र पुनरावलोकन गर्न सकिने भएकाले तत्काल पुनरावलोकन गर्न सुझाएको गुरुङको भनाइ छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एकता विभाजन गर्ने फैसला गरेको थियो । उक्त फैसला राजनीतिक भएको भन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनमा जाने बताउने गरेका छन् ।