एक सिंगे गैंडाको गणना शुरु
मकवानपुर । आजदेखि दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा गैंडा गणना गर्न लागिएको हो । सरकारले आज सोमबारबाट चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रस्थित पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकाको रमौली–प्रतापपुरबाट गैंडा गणना कार्य सुरु गरेको छ । वन तथा भू–संरक्षणमन्त्री प्रेम आलेमगरले हात्तीमाथि चढेर गैंडा गणना कार्य शुभारम्भ गरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । गैँडा गणनाका लागि वनमन्त्री प्रेम आलेलगायत उच्च सरकारी पदाधिकारीहरू हात्तीको बथानसहित चितवन राष्ट्रिय निकुञ्ज पुगेका छन् ।
गैंडा गणना शुभारम्भ गरिएको बताउँदै मन्त्री आलेमगरले दुर्लभ हुँदै गएको एकसिंगे गैंडा संरक्षणका लागि सरकार लागिपर्ने बताए । मनहरी गाउँपालिका वडा नम्बर ७ को प्रतापपुरबाट हात्तीको लस्कर लिएर सुरु गरिएको गैंडा गणनाको कार्य नेपालमा ६ वर्षपछि सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्यका लागि ६० वटा हात्ती प्रयोग गरिएको छ ।
गैंडा गणनाका लागि विभिन्न ब्लक निर्धारण गरिउको छ। सोही बमोजिम चितवन राष्ट्रिय निकुञ्जलाई १९ वटा ब्लकमा बिभाजन गरिएको छ । गणनाका लागि चाहिने गणक, हात्ती र प्राविधिकसहित बन्दोबस्तीको सामग्री तायरी अवस्था रहेको चितवन राष्ट्रिय निकुञ्ज प्रमुख अणनाथ बरालले जानकारी दिए । गणना कार्यमा गैंडा बस्ने स्थान, उनीहरुको उमेर, उनीहरुको शारीरिक स्थिती लगायतका विषयमा जानकारी संकलन गरिने जनाइएको छ ।
राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना सुरु गरिँदैछ । गणनामा ४० जना मुख्य गणक र बैकल्पिक २० जना सहभागी हुनेछन् । चैत १७ देखि बर्दिया राष्ट्रिय निकुञ्ज र चैत १९ देखि शुक्लाफाँटामा गणना गरिने छ । अघिल्लो गणनाको ६ वर्षपछि गैंडा गणना गर्न लागिएको हो ।