एमालेले साेध्याे माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण, तर जवाफ नफर्काउने
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल सहित चार नेताहरूलाई स्पष्टीकरण पत्र पठाएको छ । नेता नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र पठाइएको पार्टी कार्यालयका सचिव ईश्वर रिजालले जानकारी दिनुभयो । पार्टी अनुशासन विपरीत गतिविधि गरिरहेको भन्दै नेताहरूलाई तीन दिन भित्र स्पष्टीकरण दिन भनी पत्र पठाइएको हो ।
शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेपाल सहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो । पार्टीविरुद्ध गुटबन्दी गरेको, समानान्तर कमिटीहरू बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै चार नेतासँग स्पष्टीकरण लिने निर्णय गरेको थियो ।स्पष्टीकरणपत्रमा ती अभियोगमाथि चित्त बुझ्दो स्पष्टीकरण तीन दिनभित्र पेश गर्न भनिएको छ । चित्त बुझ्दो जवाफ नआए चारै जना नेताहरूलाई कारबाहीको लागि सिफारिस गरिने छ ।
तर नेकपा एमालेमा पार्टी हितविपरित काम गरेको भन्दै अध्यक्ष केपी ओली पक्षले वरिष्ठ नेता माधव नेपालसहितका नेतालाई तीन दिने स्पष्टीकरण सोधे पनि जवाफ भने नपाउने भएका छन् । अवैध केन्द्रीय कमिटीलाई स्पष्टीकरण सोध्ने अधिकार नै नभएको भन्दै उनीहरुले जवाफ नदिने भएका हुन् । अध्यक्ष ओली पक्षले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई तीन दिनभित्र जवाफ दिन भन्दै सोमबार प्रष्टीकरण सोधेको पत्र पठाएका छन् ।
नेपालसहितका नेताले प्रष्टीकरण नदिने प्रष्ट गर्नुभएको हो । साविक एमालेका उपाध्यक्ष रावलले आफूहरु कार्वाही भोग्न तयार रहेको तर स्पष्टीकरण नबुझाउने प्रतिक्रिया दिइसक्नुभएको छ । नेपाल पक्षीय नेता योगेश भट्टराईले नेपालसहितका नेताहरुलाई स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाउँदै प्रश्न सोध्नेहरु नै लाखौं प्रश्नको घेरामा रहेको प्रतिक्रिया दिनुभएको छ । भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत सोध्नेहरु स्वयं लाखौं प्रश्नको घेरामा रहेको उल्लेख गर्नुभएको हो ।
गत चैत्र ७ गते नेपाल पक्ष अनुपस्थित रहेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले नेता नेपालसहित चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गराउनुभएको थियो ।