प्रधानमन्त्रीको चियापानमा माधव पक्षका नेता बालुवाटार नजाने: स्थायी कमिटी बैठक बस्दै, आजै पत्रकार सम्मेलन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज चियापान कार्यक्रम आयोजना गरेका छन् । बिहान ११ बजेपछि आयोजना हुने चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजनीतिक शक्ति संघर्ष चर्किरहेको बेला ओलीले चियापान कार्यक्रम आयोजना गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
सो चियापान कार्यक्रम माधव नेपाल पक्षले भने बहिष्कार गर्ने यसअघि नै जनाएको छ । पार्टीमा ओलीको स्वेच्छाचारिता बढेको भन्दै नेपाल पक्षले भोलि कार्यकर्ता भेला बोलाएको छ । सोही भेलाको बारेमा जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गरेको छ ।
माधव नेपाल पक्षले बुधबार र बिहीबारको राष्ट्रिय भेलाका प्रस्ताव तथा योजना बनाउन स्थायी कमिटी बैठक बोलाएको छ । आज बस्ने बैठकले राष्ट्रिय कार्यकर्ता भेला र त्यसपपछिका योजना तय गर्ने एक नेताले बताए । एमाले स्थायी कमिटीका २२ जना सदस्यमध्ये नेपाल पक्षमा ११ जना छन् । पार्टी अध्यक्ष केपी ओलीले फागुन २८ गतेको विशेष बैठकका निर्णय खारेज नगरे समानान्तर कमिटी सन्चालन गर्ने तयारी नेपाल पक्षको छ ।
सोमबारको वार्ता फलदायी नभएपछि नेपाल पक्षले आफ्नो समूहमा रहेका केन्द्रीय सदस्य र सांसदहरुको भेला गरेको थियो । सो भेलामा एमालेमा एकताबद्ध भएर जाने सम्भावना कमजोर भएको निष्कर्ष निकालिएको थियो । यसैबीच बुधबारको भेलाको बारेमा जानकारी दिन नेपाल पक्षले आजै अपराह्न पत्रकार सम्मेलन आयोजना गरेको छ । नेपाल पक्षको भेला ललितपुरको हेरिटेज ब्याक्वेटमा हुँदैछ । भेलामा ३ हजार भन्दा बढी कार्यकर्ता सहभागी हुने केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए ।