ओली–नेपाल दुवै आ–आफ्नै अडानमा: नेपाल–झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूबीच बैठक बस्यो । पार्टी कार्यालयमा सम्पन्न बैठकमा दुवै पक्ष कुनै निष्कर्षमा पुग्न सकेनन । दुवै पक्षका शीर्ष नेताहरूले आ–आफ्नो धारणा राख्ने काम मात्र भयो । ‘‘दुवै पक्षले आ–आफ्नो अडान राखेका छन्, छलफल जारी रहन्छ’ नेता रघुजी पन्तले भने, ‘‘वार्ता सौहार्दपूर्ण र, सकारात्मक भयो । एक अर्काका कुरा सुन्ने, बुझ्ने काम भयो ।’ अध्यक्ष ओलीले सकारात्मक रूपमा वार्ता अगाडि बढाउने आफूहरूको अपेक्षा रहेको पनि पन्तले जानकारी दिए ।
गत फागुन २८ मा ओलीले आफू पक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय गरेका थिए। उक्त निर्णयबारे आफूहरूलाई जानकारी नभएको र निर्णय भएको भए नमान्ने अडान आफूहरूले अध्यक्ष ओलीलाई जानकारी गराएको पन्तले बताए। उनले भने, ‘२८ गते भएको बैठकका निर्णय थाहा छैन। निर्णय स्विकार्दैनौँ। त्यो बैठक विधानअनुसार छैन। स्वीकार्न सकिन्न भनेर हामीले भनेका छौँ ।
राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय
एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले आगामी ४ र ५ चैतको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी ओलीसहितका नेताहरूसँगको वार्तापछि सोमबार नेपाल–खनाल पक्षको बानेश्वरस्थित एक होटेलमा भएको केन्द्रीय सदस्य र सांसदहरूको भेलाले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो ।
केन्द्रीय सदस्य र सांसदहरूको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्ताबारे जानकारी गराएको नेता रघुजी पन्तले जानकारी दिए । वार्तामा २८ फागुनको निर्णय खारेज गर्न आफूहरूले गरेको आग्रह ओलीले अस्वीकार गरेको नेपालले बताएका थिए । ओलीसँगको वार्तामा नेपाल पक्षले २८ फागुनको निर्णय खारेज गर्न माग गरेको थियो । तर, ओलीले ठोस जवाफ दिएका थिएनन् । ओलीले राष्ट्रिय कार्यकर्ता भेला रोक्न आग्रह गरेका थिए । नेपाल पक्षले २८ फागुनको निर्णय खारेज नभए भेला नरोक्ने बताएको थियो ।
ओलीसँग भएको छलफलबारे जानकारी दिन नयाँबानेश्वरमा बोलाए बैठक
नेकपा एमालेको माधवकुमार नेपाल समूहले सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन बैठक बसेको छ । नयाँबानेश्वरस्थित अर्याल होटलमा भर्खरै बैठक सुरु भएको छ । सोमबार विहान पार्टी कार्यालयमा नेता नेपालले २८ फागुनको निर्णय खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको बताउनुभएको छ ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता नेपालले सुरुवातमा निकै मीठो भएको तर, अन्त्यमा भने टर्रो भएको पनि बताउनुभएको छ । तर अध्यक्ष ओली त्यसमा सहमत नभएको उहाँले बताउनुभएको छ । साथै, बैठकमा नेता नेपाललाई अध्यक्ष ओलीले पार्टी विरोधी गतिविधि रोक्न अनुरोध गर्दा नेपालले बालुवाटार बसेर एमालेको गुट नचलाउन ओलीलाई चेतावनी दिनुभएको थियो ।